
काठमाडौँ, १ साउन । जनता समाजवादी पार्टी (जसपा) बाट निकालिएका डा. बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने भएका छन् ।
जसपाको पुनर्गठनलाई छोडेर भट्टराईले नयाँ पार्टीको गठन गर्न तर्फ अग्रसर बनेका हुन् ।
शुक्रबार जसपा अध्यक्ष उपेन्द्र यादवले वीरगञ्जमा पार्टीको केन्द्रीय बैठकमार्फत भट्टराईसहित ९ जनालाई पार्टीबाट हटाएका थिए । उसो त यादवको कार्यशैली तानाशाही, एक्लौटी भएको भन्दै पर्साकै दर्जनौँ नेताहरुले पार्टी परित्याग गरेका छन् ।
बाबुरामले यादवले गरेको कारवाहीलाई खारेजीको माग गर्दै असार ३० गते एक विज्ञप्ति जारी गरी जसपा पुनर्गठन गर्न आह्वान गरेका थिए ।
तर त्यसमा सफलता हुने नदेखेपछि भट्टराईले नयाँ पार्टी खोलेर अघि बढ्ने जमर्को गरेका हुन् ।
भट्टराई पक्षको बैठकले शनिबार नै नयाँ पार्टी बनाएर अघि बढ्ने निर्णय भइसकेको एक नेताले जानकारी दिएका छन् ।
उनका अनुसार पार्टीको नामदेखि विधानबारे सोमबार बस्ने बैठकले तय गर्ने बताइएको छ । भट्टराई पक्षकै एक नेताले निर्वाचन आयोगमा पार्टी दर्ता गरिरहेका बताइएको छ ।
त्यस्तै, नयाँ पार्टीका लागि विभिन्न नामहरू समेत प्रस्ताव भएका छन् । त्यसमाथि पनि छलफल भइरहेको बताइएको छ ।















प्रतिक्रिया