५ कार्तिक २०८३, बिहिबार

यस्तो छ सेटिङमा त्रिवि सेवा आयोगका अधिकारीको बदमासी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन। शिक्षण अस्पताल महाराजगञ्जका लागि आवश्यक एक जना बायोमेडिकल इन्जिनियरको पदपूर्तीका क्रममा त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अधिकारीले सेटिङका आधारमा उत्तिर्ण गराउने षडयन्त्र रचेको खुलासा भएको छ।

दुई बर्षअघि लिइएको परिक्षाको नतिजा ढिलोगरी प्रकाशित गर्ने काम नै शंकाको घेरामा रहेका बेला बायोमेडिकल इन्जिनियरको अन्तरवार्तामा एक जनालाई मात्र बोलाएर सेवा आयोगका अधिकारी अर्को विवादको घेरामा तानिएका हुन्।

२८, २९ र ३० माघ ०७७मा गरिएको परिक्षाको नतिजा दुई बर्ष लगाएर निकाल्दै सेटिङका आधारमा सेवा आयोगका उच्च तहका कर्मचारीले एक जनालाई मात्र अन्तरवार्ताका लागि छनौट गरेको हो। बायोमेडिकल इन्जिनियरको परिक्षामा सहभागी रुशा आचार्य नामकी परिक्षार्थीलाई मात्र अन्तरवार्तामा बोलाएर अन्यलाई पाखा लगाउने कामभित्र ‘सेटिङ’ भएको सेवा आयोग स्रोतले जनाएको छ।

स्रोतले भन्यो,‘एक त दुई बर्षपछि नाटकीय ढंगमा परिक्षाको नतिजा निकाल्ने षडयन्त्र भयो, त्यहाँमाथि अन्तरवार्तामा एक जनालाई मात्र बोलाएर पूरापूर चलखेल गरेको स्पष्ट भएको छ।’

बायोमेडिकलमा उच्च अंक ल्याई अध्ययन गरेका ७ जना उक्त परिक्षामा सहभागी रहेका थिए। ‘अन्तरवार्तामा कम्तिमा पनि अन्तिम तीन जना हुनुपर्ने हो तर अन्यलाई पाखा लगाउँदै एक जनालाई मात्र छनौट गर्नु भनेको कर्मकाण्डी काम जस्तो स्पष्ट छ’, स्रोतले भन्यो,‘दुनियाँमा कहिँ पनि यस्तो अन्तरवार्ता एक जनाको मात्र हुने प्रचलन छैन।’

कतिपय मेडिकल सप्लायर्ससँगको सेटिङमा सेवा आयोगका अध्यक्ष डा. लालु पौडेल, सदस्य केदारनाथ ढकाल र निर्देशक हेमराज ढकाल संलग्न रहेको उच्च स्रोतले जानकारी दिएको छ।

‘शिक्षण अस्पतालमा बायोमेडिकल इन्जिनियर को आउँदैछ भन्ने दुई महिनाअघि नै खुलासा भइसकेको थियो। त्यसैले देखाउनका लागि अन्तरवार्तामा एक जनालाई छनौट गरिएको हो, यो कर्मकान्डी छ’, स्रोतले भन्यो।

उक्त एक जनाको पदका लागि सेवा आयोगले १५ मंसिर ०७६ मा विज्ञापन गरेको थियो। त्यसैअनुसार २५ माघ ०७७ देखि २७ फागुन ०७७ मा एउटा र २८ कात्तिक ०७८ देखि १६ मंसिर ०७८ सम्म लिखित परिक्षा गरिएको थियो।

सेवा आयोगका उच्च तहका पदाधिकारीले अन्तरवार्तामा एक जना मात्र बोलाएको बदमासीलाई प्रमाणित गर्न सक्ने उदाहरण उही पदमा प्रहरी अस्पतालले अन्तरवार्तामा छनौट गरेको प्रक्रियाले पनि पुष्टि गर्छ। सोही बायोमेडिकल इन्जिनियरको अन्तरवार्तामा प्रहरीले तीन जनलाई छनौट गरी बोलाएको थियो। स्रोतले भन्यो,‘तर त्रिभुवन विश्वविद्यालयको सेवा आयोगले यो नियमलाई किन कार्यान्वयन गरेन? यसमा पूरापूर मिलोमतो छ।’

यसैगरी अन्य परिक्षाहरूमा पनि सेवा आयेगका अधिकारीहरूले मनपरी अन्तरवार्तामा बोलाएको तथ्य सतहमा आएको छ।

प्राविधिक अधिकृत (फिजियो थेरापिस्ट) मा कसैलाई पनि अन्तरवार्तामा बोलाइएको छैन। २६ जनाले परिक्षा दिएको मुख्य प्राविधिक सहायक (फार्मेसी)मा पनि एक जनालाई मात्र बोलाइएको छ।

अन्तरवार्ताका लागि एक जना मात्र बोलाउने कुन परिक्षाको पद्धती हो? भनी सोध्नका लागि सेवा आयोगका अध्यक्ष डा. पौडेलसँग प्रतिक्रिया लिन खोज्दा मोबाइल ‘स्वीच्ड अफ’ थियो। अर्का अधिकारी डा. हेमराज ढकालको मोबाइल भने उठेन। सेवा आयोगका सदस्य डा. केदार ढकालको मोबाइलमा पनि सम्पर्क हुन सकेन।