
काठमाडौँ, ३२ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको बचाउ गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।
शनिबार पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै थापाले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारको तीव्र आलोचना गरेका अहिले आफ्नै सरकारको बचाउ गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।
‘हिजो सरकार कसरी चलाउने हामीले भन्यौं ? आज हामीले प्रतिरक्षा गर्ने अवस्था छ ?’ उनले भने, ‘हिजो ओली सरकारको तीव्र आलोचना ग¥यौं । आज आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौं । हिजोको प्रश्नले आज हामीलाई लखेटिरहेको छ ।’
त्यस्तै, उनले पार्टीले आफ्नो भागमा अर्थ मन्त्रालय नराख्नु गल्ती भएको टिप्पणी गरे ।
त्यस्तै, उनले आफूहरुलाई पार्टीमा घेराबन्दी गरिए चुप लागेर नबस्ने बताए । ‘घेराबन्दी गर्ने खेल भइरख्यो भने हामी पनि निर्वाचित महामन्त्री हौं । चुप लागेर बस्दैनौं’ उनले भने ।
‘विगतमा कहाँ कसले भेला गरे, त्यो फोटो गुगल हेरेर देखिन्छ । ठूलो घर हुनेले ठूलो घरमा बैठक बोलाए, सानो घर हुनेले पार्टी प्यालेसमा बोलाए, के गल्ती भयो ?’ महामन्त्री थापाले प्रश्न गरे ।
थापाले अहिले पार्टीभित्रै दम्भ सहनुपरेको बताए । ‘ओलीले दम्भ देखाए, उनको पार्टी फुट्यो । ओलीको दम्भको विरोध गर्ने हामीले पार्टीको दम्भ सहनुपर्ने ?’ उनले प्रश्न गरे ।












प्रतिक्रिया