
काठमाडौँ, ३२ असार । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालेमल गर्न आग्रह गरेका छन् ।
श्रेष्ठले शनिबार काठमाडौँमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था ः चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा तुम शेर तो, हम सवा शेर छाडेर बामपन्थी एकता गर्नुपर्ने बताए ।
श्रेष्ठले देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामपन्थीहरु भएको बताए । तर अहिले वामपन्थीहरुले एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा सबै सिद्धिने दिशातिर गइरहेको र यसले देशको अस्थित्व संकटमा पर्नसक्ने बताए ।
उनले थपे, ‘देश सिध्याउने काम नगरौं । त्यसका निम्ति वापन्थीहरुको एकता आवश्यक छ । कमसेकम तालमेल र मोर्चातिर जान आवश्यक छ ।’
उनले कार्यक्रमका प्रमुख अतिथि मन्चमा आसीन एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिँदै भने, ‘सबैसँग विनम्रतातापूर्वक आग्रह गर्न चाहन्छु, तुम शेर तो, हम सवा शेर छोडिदिऊँ ।’
श्रेष्ठले थपे, ‘घटनाक्रमको विषयवस्तुमा गम्भीर आत्मसमीक्षा गरौं । कतिपय भोलि गरे हुने भए पछाडि गरौंला । अहिले गर्नुपर्ने छ, गल्ती कमजोरी भएको छ भन्ने लाग्छ भने आत्मालोचना गरौं । म त आत्मालोचना गर्छु, पार्टी एकता जोगाउन सकिएन, मेरो पनि भूमिका थियो ।’
तालमेल नगरे बामपन्थी सिधिने उनको भनाइ छ । उनले भने, ‘भएन भने त उही मेसो हो एकअर्कामा लडौं, वामपन्थीहरु सिध्याऔं, देशलाई पनि संकटमा पारौं ।’












प्रतिक्रिया