
काठमाडौँ, ३० असार । नेकपा (एमाले)ले सत्तारुढ माओवादीलाई वैवाहिक अंगीकृत नागरिकताको विषयमा किन मौन रहेको भनी प्रश्न गरेको छ ।
बिहीबार प्रतिनिधिसभामा बोल्दै एमाले सांसद पद्मा अर्यालले प्रश्न गरिन्, ‘वैवाहिक अंगीकृत नागरिकताको विषयमा बुहारीको विषयमा चिन्तित छौं । छोरीको विषयमा चिन्ता गर्नुपर्छ कि पर्दैन ? हिजो पनि सरकारमा रहेर हिजो बाह्र हात उफ्रनु भएको थियो । अहिले पनि सरकारमा रहेर किन चुप बस्नुभएको होला ?’
यसअघि तत्कालीन नेकपाले कम्युनिष्ट पार्टी नेकपाको तत्कालीन सचिवालय बैठकले नेपालमा विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै वैवाहिक नागरिकता दिने गरी कानुन बनाउने निर्णय गरेको थियो ।
त्यसबेला नेकपाका सांसदहरु यस विषयमा एक भएका थिए ।
त्यसै अनुरुप वैवाहिक अंगीकृत नागरिकता विवाह गरेर आएको ७ वर्षपछि मात्रै जारी गर्ने गरी नागरिकता ऐन संशोधन विधेयक पारित गरेको थियो ।
तर, त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले फरक मत राखेर ०६३ को ऐन अनुसार विवाह गरेर आउने वित्तिकै नागरिकता पाउने व्यवस्थाका लागि फरक मत राखेको थियो ।
कांग्रेस सरकारमा विधेयक गएपछि नयाँ नगारिकता विधेयक ल्याएको छ । जसमा नयाँ वैवाहिक अंगीकृत नागरिकताको बारेमा केही बोलिएको छैन । जसले गर्दा विवाह गरेर आउनेबित्तिकै नागरिकता पाउने व्यवस्था अघि बढ्न सक्छ ।
माओवादीलाई एमालेले त्यसबेला गरेको वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि जारी गर्ने प्रावधानबारे किन मौन भनी प्रश्न गरेको हो ।















प्रतिक्रिया