३१ आश्विन २०८३, शनिबार

टिचिङ अस्पतालद्वारा चार लाख १६ हजार बिरामीलाई बहिरङ्ग सेवा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जले चालु आर्थिक वर्षको ११ महिनामा चार लाख १६ हजार १५२ लाई बहिरङ्ग सेवा प्रदान गरेको छ ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थानद्वारा सञ्चालित सो अस्पतालले दैनिक दुई हजारदेखि दुई हजार ५०० बिरामीलाई बहिरङ्ग सेवा प्रदान गर्दै आएको अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिनेश काफ्लेले जानकारी दिनुभयो ।

अस्पतालको ४० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘दीर्घसेवा सम्मान तथा प्रमाणपत्र वितरण’ कार्यक्रममा कार्यकारी निर्देशक प्रा डा काफ्लेले ३६ वटा विभिन्न विभागमार्फत बिरामीको उपचार गर्दै आएको बताउनुभयो ।

यस्तै, अस्पतालले ११ महिनामा विभिन्न रोगका २७ हजार बिरामीलाई भर्ना गरेर उपचार गर्नुका साथै एक हजार ७०० कडा खालको रोगको समेत उपचार गरेको प्रा डा काफ्लेले बताउनुभयो । कडा रोगमा क्यान्सर, किड्नी, स्पाइनल इन्जुरी, अल्जाइमरलगायत छन् ।

तीन सय शय्याबाट आफ्नो यात्रा थालनी गरेको टिचिङ अस्पतालले हाल एक हजार शय्यामार्फत बिरामीको उपचार गर्दै आएको छ । उहाँले त्रिवि शिक्षण अस्पताल पछिल्लो समय नेपालीको आशाको केन्द्रका रुपमा विकास हुँदै गएको बताउनुभयो ।

अस्पतालको ४० औँ वार्षिकोत्सवका अवसरमा आजै अस्पतालमा निरन्तर २५ वर्षभन्दा बढी समय सेवा गर्ने ७५ जना कर्मचारी, डाक्टर तथा नर्सलाई दीर्घसेवा पदकबाट सम्मान गरिएको छ ।

अस्पतालका कर्मचारी, डाक्टर तथा नर्सलाई सम्मान गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थानकी डिन प्राडा दिव्यासिंह शाहले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जले बिरामीका लागि गुणस्तरीय सेवा प्रदान गर्दै आएको बताउँदै त्रिवि अस्पतालको गरिमालाई सधैँ कायम राख्न सबैलाई आग्रह गर्नुभयो ।

“अस्पतालको उन्नति र प्रगतिसँग डाक्टर, नर्स र कर्मचारी उन्नती र भविष्य जोडिएको छ, त्यसैले अस्पताललाई अगाडि बढाउन मेहनत, लगनशील र व्यवसायी भएर लागौँ”, उहाँले भन्नुभयो ।

प्रा डा शाहले सबै नेपाली र विद्यार्थीको पहुँच भएको टिचिङ अस्पताललाई अगाडि बढाउन सबै हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ६० भन्दा बढी स्वास्थ्य विधाको पढाइसमेत हुँदै आएको छ ।–रासस