३१ आश्विन २०८३, शनिबार

पछि हटे श्रीलङ्काली प्रदर्शनकारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

कोलम्बो, ३० असार । राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेर बसेका प्रदर्शनकारीहरू ती स्थानबाट निस्कने भएका छन् । राष्ट्रपति गोटाबाया राजपाक्ष श्रीमती र दुई जना अङ्गरक्षकका साथ देशबाट बाहिरिएपछि नयाँ सरकारसमक्ष आफ्ना माग पुर्याउन उनीहरू ती भवनबाट बाहिरिने निष्कर्षमा पुगेका हुन् ।

राष्ट्रपति गोटाबाया राजीनामापत्रमा हस्ताक्षर नगरी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई कार्यबाहक राष्ट्रपति बनाएर देशबाट बाहिरिएपछिको परिस्थितिमा समस्याको समाधान संसद्बाट खोज्ने उद्देश्यले सरकारी निवास खाली गर्ने निष्कर्षमा आफूहरू पुगेको प्रदर्शनको नेतृत्व गरिरहेका देविन्द कोडागोडेले बताए ।

सभामुखले पनि समस्याको निकास संसद्बाट खोज्ने प्रयास भइरहेको बताएका छन् । वायुसेनाको विमानमा मालदिभ्स पुगेका गोटावाया साउदी एयरलाइन्स चढेर सिङ्गापुर हुँदै साउदी अरबको जेद्दातर्फ लागेका मालदिभ्स सरकारका एक अधिकारीले बताएका छन् ।

आक्रोशित प्रदर्शनकारीबाट संसद् भवनलाई जोगाउन त्यहाँ भारीमात्रामा सुरक्षाफौज परिचालन गरिएको छ । हातहतियारले सुसज्जित सैन्यटोली बख्तरबन्द गाडीका साथ संसद् भवन बाहिर तैनाथ भएका छन् ।–रासस