
काठमाडौँ, २९ असार । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार सुरु भएको छ ।
नबिल बैंकको ३८ औँ वार्षिकोत्सवको पूर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरि एकिकृत कारोबार थालनी भएको घोषणा गरिएको हो ।
दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो । कार्यक्रममा बोल्दै मुख्य सचिव बैरागीले पुरानोमध्येको एक नेपाल बंगलादेश बैंकको प्राप्तिपछि नबिल बैंक अझ ठूलो भएको र यस कदमले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास जनाए ।
अझ बलियो, सँगै अघि भन्ने नारा सहितगरिएको कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले प्राप्तिपछि नबिलले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ्ग क्षेत्रको स्थायित्वमा टेवा पुर्याउने बताए ।
“बैंक ठूलो भएसँगै बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिवृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिएका छौ,” उनले थपे ।
देश विकासमा बैंकिङ्ग संस्थाहरुको अग्रणी भूमिका हुने बताउँदै उनले भने, “यस बैंकले वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्याउने लक्ष्यसहित नबिल दिगो बैंकिङ्गको सुरुवात गरेको छ र अझ सशक्त रुपमा अघि बढ्नेछ ।” पर्यावरण र दिगो विकासको मापदण्डलाइ पछ्याउदै बैंकले त्यहिअनुसार नीति तथा रणनीति लिने उनले जानकारी दिए ।
“क”वर्गको इजाजत प्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वितीय संस्था भएको छ ।
“नबिल बैंक र एनबि बैंक एकआपसमा प्राप्ति (एक्विजिशन) को आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरुलाई समेत मध्यनजर गर्दै बैंक प्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिबृद्धि गर्न कदम चालेका हौं,” बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले बताए । उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए ।
“हामीले हाम्रा निक्षेपकर्ता, लगानीकर्ता लगायतका सरोकारवालाहरुको हित संरक्षण गर्ने; देशव्यापी शाखाहरुको सञ्जाल विस्तार गरी वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्ने, पूँजीगत आधार सुदृढ गरीे सम्भावित वित्तीय जोखिम तथा ख्याति सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न अग्रणी भुमिका खेल्ने नीति लिनेछौं । साथसाथै सबै सूचकांकहरुमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथआज बाट एकिकृत कारोबार शुरु गरेका छौं,”उनले थपे ।
बैंककाअनुसार प्राप्ति पछि बैंकको चुक्ता पुंजी २२ अर्ब ८३ करोड, कुल पुंजी ५६ अर्ब २ करोड, कूल निक्षेप ३ खर्ब २८ अर्ब तथा कूल कर्जा ३ खर्ब ८ अर्ब पुगेको छ । त्यस्तै गरि देशभरिको शाखा विस्तार भई २६७ शाखा सञ्जालहरु र २७४ एटिएम मेसिनहरुबाट सेवा प्रदान गर्नेछ ।















प्रतिक्रिया