
काठमाडौँ, २९ असार । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको दोस्रो बैठक बस्दैछ ।
बैठक सिंहदरबारस्थित संसदको अर्थ समितिको सभा कक्षमा दिउँसो साढे २ बजे बस्ने भएको छ ।
बैठकमा समितिको सभापति चयन हुनेछ । ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको संयोजकत्वमा बसेको पहिलो बैठकले कार्यविधि पारित गरे पनि सभापति चयन नगरी सकिएको थियो ।
सत्तारुढ र प्रतिपक्षी दुवै दलबाट समितिको सभापतिको दावी गरिएपछि चयन प्रक्रिया लम्बिएको हो ।
शर्मामाथि बजेट प्रस्तुत गर्ने अघिल्लो दिन अनाधिकृत व्यक्तिलाइृ संलग्न गराई बजेटमा करको दर हेरफेर गरेको भन्दै चर्को विरोध भएपछि छानबिनका लागि ११ सदस्यीय समिति गठन गरिएको हो ।
त्यसकै चर्को विरोधपछि शर्माले पनि राजीनामा दिएका छन् ।
विशेष समितिमा एमालेका ४ जना (खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, बिमला बिक), नेपाली कांग्रेस २ जना ( पुष्पा भुसाल र सीताराम महतो), नेकपा माओवादीका २ जना (देव गुरुङ र शक्ति बस्नेत), नेकपा एकीकृत समाजवादीकी सरला यादव, जनता समाजवादी पार्टीका सुरेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण सदस्य छन् ।
विशेष समितिले काम सुरु गरेको १० दिनभित्र प्रतिनिधि सभामा प्रतिवेदन पेस गर्नु पर्नेछ ।















प्रतिक्रिया