
काठमाडौँ, २८ असार । नेपाली सेनाद्वारा निर्माणाधीन गोरखा जिल्लास्थित बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाअन्तर्गत धार्चे गाउँपालिका वडा नं. ७ हावाडाँडादेखि सोही गाउँपालिका वडा नं.३ स्थित दोभानसम्मको १८ कि.मि. सडक खण्डको ट्र्याकको निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ ।
सोमबार नेपाली सेनाका बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी विनोद भट्टले सडक विभागअन्तर्गत ११ किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक योजना, गोरखाका प्रमुख सि.डि.ई. पशुपति ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् ।
२०७३ मंसिर २६ गतेको मन्त्रिपरिषदको निर्णयले भौगोलिक विकटता, मौसमी प्रतिकुलता, कडा चट्टानयुक्त भू–बनोट आदिका कारण सडक खण्डको ट्र्याक खोल्ने कार्यको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो ।
नेपाली सेनाले २०७४ वैशाख ११ गतेबाट ट्र्याक खोल्ने कार्य सुरु गरिएको थियो ।
सडक खण्डको निर्माण पश्चात गोरखा जिल्लाको विकट उत्तरी हिमाली क्षेत्रमा पर्ने धार्चे गाउँपालिका तथा चुनमुब्री गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नुका साथै सडकले समग्र उत्तरी गोरखा जिल्लाको विकासमा महत्वपूर्ण योगदान पुर्याउने नेपाली सेनाले विश्वास लिएको जनाएको छ ।















प्रतिक्रिया