३१ आश्विन २०८३, शनिबार

मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्छः गभर्नर अधिकारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि अनुमानभन्दा माथि जाने बताएका छन् ।

उनले चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिए पनि अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएको बताए ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन् ।

मूल्य वृद्धि नियन्त्रणका लागि उनले ब्याजदर बढाउनुपर्ने बताए । ‘विकसित मुलुकहरूमा न्यून मुद्रास्फीति हुने गरेकोमा २०२२ मा बढेर ५.७ प्रतिशत पुग्ने अनुमान छ । २००८÷०९ को मन्दीमा पनि नभोगेको मूल्य वृद्धि विश्व अर्थतन्त्रले भोगेको छ, चालु आर्थिक वर्षमा मूल्यवृद्धि सीमाभित्र राख्न कठिन छ । आगामी दिनमा पनि कठिन देखिन्छ,’ उनले भने, ‘मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने तथा कोभिडको समयमा दिएका सहुलित हटाउँदै लैजाने नीति ठूला र विकसित अर्थतन्त्र भएका मुलुकको छ । हामीले पनि त्यसमा ध्यान दिनुपर्ने देखिन्छ ।’

विश्वका अन्य केन्द्रीय बैंकहरुले प्रोत्साहन प्याकेज हटाउँदै लगेको पनि उनले बताए । ‘हामीलगायत धेरै मुलुकमा परेको ठूला समस्या बाह्य क्षेत्रको दबाब नै हो,’ गभर्नर अधिकारीले भने,’ चालु आर्थिक वर्षको १० महिनामा २ अर्ब ४७ करोड डलरले विदेशी मुद्रा सञ्चिती घटेको छ । ६ महिनाभन्दा बढीको आयात धान्न सकिन्छ । जुन नराम्रो हैन तर जुन रूपमा घट्यो यसरी घट्दा जोखिम हुन्छ कि !’

आयात बढ्नुमा पनि मुख्य मूल्य वृद्धि नै भएको उनको भनाइ छ ।

रेमिट्यान्स पछिल्लो महिनामा सुधार हुँदा नेपाली र अमेरिकी डलर दुवैमा गत आर्थिक वर्षकोभन्दा बढी हुने देखिने उनको भनाइ छ ।