
गुलरिया, १५ असार । जनताको बहुदलीय जनवाद (जबज) का प्रतिपादक मदनकुमार भण्डारीको ७१औँ स्मृति दिवसको अवसरमा बर्दियामा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
उनको स्मृति दिवसको अवसरमा मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक वहस तथा वक्तृत्वकला कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दिया र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बर्दियाले संयुक्त रूपमा आयोजना गरेका हुन् ।
बर्दियाका विभिन्न क्याम्पसबाट विद्यार्थीहरू वक्तृत्वकला प्रतियोगितामा सहभागी भएका थिए । प्रतियोगितामा बबई बहुमुखी क्याम्पसकी छात्रा अनुस्का पौडेल प्रथम, जनसेवा बहुमुखी क्याम्पस वैदीकी छात्रा कमला विश्वकर्मा द्वितीय र बबई बहुमुखी क्याम्पसकी छात्रा कविता आचार्य तृतीय भएका छन् ।

त्यसैगरी कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी बर्दियाका सदस्य सुशील चौधरीले जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रताको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले जनताको बहुदलीय जनवाद वर्तमान अवस्थामा भएको प्रयोग र अभ्यासको बारेमा स्पष्ट पारेका थिए ।
प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै नेकपा एमाले जिल्ला कमिटी बर्दियाका सचिव पदम ढकालले जनताको वहुदलीय जनवाद बुझ्नका लागि मदभण्डारीको जिवनीको बारेमा पनि स्पष्ट हुनुपर्ने बताए । अहिलेको सन्दर्भमा जनताको वहुदलीय जनवादलाई कसरी व्यवहारमा प्रयोग गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट पारेका थिए ।
कार्यपत्रमाथि टिप्पणी गर्दै नेकपा एमाले जिल्ला कमिटी बर्दियाका उपाध्यक्ष शालिकराम अधिकारीले जनताको बहुदलीय जनवादको विषयमा स्पष्ट पारेका थिए । उनले मदन भण्डारी र जनताको बहुदलीय जनवादको अन्योन्याश्रित सम्बन्ध भएको बताए । उनले यो जनतालाई सुखी र समृद्ध बनाउनका लागि र समाज परिवर्तनका लागि प्रतिपादित सिद्धान्त भएको बताएका छन् ।















प्रतिक्रिया