शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

यस्तो छ माधव नेपाल र योगेश भट्टराईबीचको उतारचढावपूर्ण सम्बन्ध, हेर्नुस् ११ बुँदा

दैनिक नेपाल २०७९ असार १३ गते १०:२२

काठमाडौं, १३ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र आफ्नो सम्बन्धबारे खुलासा गरेका छन् ।

अध्यक्ष नेपाल र नेता भट्टराईबीच विभिन्न टिप्पणीहरूको जुहारी चलिरहेको बेला भट्टराईले माधव नेपालसँगको पञ्चायतकालदेखि अहिलेसम्मको सम्बन्ध र अवस्थाबारे विभिन्न ११ वटा बुँदामा खुलासा गरेका हुन् । ‘कमरेड माधव नेपाल र म !’ शीर्षक दिएर भट्टराईले लेखेका छन्, ‘कमरेड माधव नेपाल दुई सय बर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !’

एकीकृत समाजवादीमा मन्त्री हेरफेरको किचलो चलिरहेका बेला गत शनिबार भट्टराईले माधव नेपाल र झलनाथ खनाललाई आत्मबोध र पश्चाताप कहिले भनेर सामाजिक सञ्जालमार्फत प्रश्न गरेका थिए । त्यसपछि अध्यक्ष नेपालले आइतबार एक भाषणका क्रममा विशेषगरी भट्टराईलाई लक्षित गर्दै ‘दश भाइ’ एमालेका दास भएको र उनीहरूले एकीकृत समाजवादीको खेदो खनेको बताएका थिए ।

त्यसलगत्रै आइतबारै भट्टराईले नेपाललाई राजनीतिबाट सन्यास लिएर बस्न सुझाव दिएका थिए । यसपछि समाजावदीका विभिन्न नेताहरू योगेशविरुद्ध खनिदै आएका छन् । सोही क्रममा नेता भट्टराईले लेखेका छन्, ‘कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्दा र असिस्ट टिप्पणी गर्नु भयो उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौँ । अस्ती फेरि तल्लो स्तरमा झरेर बोल्नुभयो । अनि मैले उहाँकै हित हुने गरी जीवनोपयोगि जवाफ फर्काएँ । समाजवादीका युवाको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरूको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरू खुसी हुनेगरी म भन्न चाहन्छु– कमरेड माधव नेपाल दुई सय बर्ष बाँच्नुहोस् । पदमा रहिरहनुहोस्, शुभकामना !’

यस्तो छ भट्टराईले माधव नेपालमाथि गरेको टिप्पणी–

कमरेड माधव नेपाल र म !

कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्दा र असिस्ट टिप्पणी गर्नु भयो उहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौँ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले उहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । समाजवादीका युवाहरूको चित्त दुखेछ ! माफ गर्नुहोला तपाईंहरूको चित्त दुखाउनु मेरो मनसाय होइन । अब उनीहरू खुशी हुनेगरी म भन्न चाहन्छु– ‘कमरेड माधव नेपाल दुई सय बर्ष बाँच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना !’

कमरेड माधव नेपाल र मेरो सम्बन्धका बारेमा केही कुरा–

१. पञ्चायतकालमा कमरेड रञ्जनको उपनामले मैले कमरेड माधव नेपाललाई चिनेको हुँ । त्यतिबेला उहाँबाट थुप्रै प्रशिक्षण लिएको छु ।

२. उहाँमा थुप्रै राम्रा गुणहरू छन् जसको खुलेर प्रशंसा गरेको छु भने कमजोरीको खुलेरै बिरोध गरेको छु । उहाँलाई चिनेदेखि उहाँ र मेरो सम्बन्धमा उतारचढाब रहेका छन् र यो जारी रहने छ ।

३. नेकपा एमालेको पाँचौं महाधिवेशन (२०४९) मा उहाँ अन्तिमतिर मात्रै जनताको बहुदलीय जनबादका पक्षमा खुल्नु भएको हो । हामी शुरू देखिनै मदन भण्डारीको नेतृत्व र विचारलाई स्थापित गर्न लागेका हौँ ।

४. छैठौ महाधिवेशनमा उहाँ पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन उहाँलाई थिएन ।

५. सातौँ महाधिवेशनबाट उहाँ पुन पार्टीको महासचिब हुनुभयो । मेरो समर्थन उहाँलाई थियो ।

६. आठौँ महाधिवेशनमा उहाँले आफ्नो धार बदल्नु भयो । हामी उहाँसँग लागेनौँ ।

७. नवौँ महाधिवेशनमा उहाँ पुरानै धारमा फर्कनुभयो । अध्यक्षको उम्मेदवार हुनुभयो । हामीले साथ दियौँ । जित्नु भएन ।

८. प्रधानमन्त्री केपी ओलीकाविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्न भन्नुभयो मैले मानिन र गरिनँ ।

९. नेकपा एमालेको विभाजनको औचित्य छैन र यो नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्र हो भन्ने मेरो बुझाई रह्यो अलग पार्टी बनाउन उहाँलाई मैले साथ दिन सकिनँ । त्यसमा मलाई पछुतो छैन ।

१०. २०५३ सालमा म अखिलको अध्यक्ष थिएँ । राष्ट्रिय सम्मेलनबाट चुनिएको । उहाँ पार्टीको महासचिव । उहाँ र मेरो बीचमा समस्या उत्पन्न भयो । उहाँको दैनिक दबाब र असहयोगका कारण मैले अखिलको अध्यक्षबाट राजीनामा गरिदिएँ ।

११. म माक्र्सवादी चेत भएको मानिस हुँ । मेरा गुरुहरूले मलाई व्यक्ति, घटना र विषयवस्तुलाई बुझ्ने आलोचनात्मक शिक्षा दिनुभएको छ । गुरुहरूप्रति मेरो सदा सम्मान छ । र मैले कमरेड माधव नेपाल लगायत सबैलाई यही माक्र्सवादी दृष्टिकोणबाट हेर्ने गर्दछु । म कसैको अन्ध समर्थक र अन्ध बिरोधी होइन ।

पुनश्चः कमरेड माधव नेपालसँग सवाल जवाफ गर्नु मेरो मनसाय होइन ।

(२०७९ असार १३ गते बिहान काठमाडौं–धनगढी हवाई यात्राको क्रममा तयार छोटो स्मरण ।)

प्रतिक्रिया
सम्बन्धित