
काठमाडौं, १२ असार। नेपाल प्रहरीका महानिरिक्षक (आईजी) धीरजप्रताप सिंहले संगठनको नेतृत्व सम्हालेको दुई महिनामा नै लयमा उतारेका छन्।
मुद्दामामिलाबीच फूली लगाएका सिंहले नेतृत्व हाँक्नासाथ पहिलो परिक्षा नै स्थानीय निर्वाचनलाई सफल बनाउनेगरी पास गरेका थिए।
यसबाहेक संगठनमा रहेको रिक्ततालाई पनि पूर्ण गर्नका लागि उनी सक्रिय भए। रिक्त रहेका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा समकालिन (ब्याची)लाई बढुवाका लागि सिफारिस गराए भने रिक्त रहेका प्रहरी नायव महानिरिक्षक (डीआईजी) बढुवाका लागि पनि सिफारिस गरिसकेका छन्।
हालै मात्र गृह मन्त्रालयमार्फत १७ एसएसपी डीआईजीमा बढुवा सिफारिस गरिएको छ। ‘कतिपयले अदालतमा केस चलिरहेका बेला संगठनलाई भन्दा पदलाई जोगाउने सक्रियता देखाउँछन्। तर अहिलेका आईजीले संगठन गतिहिन हुन सक्तैन भन्ने उदाहरण देखाउनुभयो’, एक जना पूर्वएआईजी भन्छन्,‘संगठनमा रिक्त रहेका पदमा बढुवा नगर्ने, सिफारिस नगर्ने हो भने चेन अफ कमान्डमा नै असर हुन्छ नै बढुवा हुनुपर्ने बेला पुगेका अधिकृतको मनोबल पनि बलियो हुँदैन।’
हालै मात्र अपराध महाशाखा प्रमुख बसन्त कुँवरसहित १७ जनाको डीआईजी बढुवा सिफारिस भयो। मानव बेखविखन अनुसन्धान ब्युरोमा कार्यरत टेक प्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरीको बढुवा सिफारिस भयो।
यसैगरी टेकबहादुर तामाङ, उमेशराज जोशी, भिमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणाको पनि सिफारिस भयो।
‘परेका सिफारिसमा पनि भेदभाव गरिएको छैन। एकै पटक चार जना महिला डीआईजी सिफारिस भएका छन्’, स्रोतले भन्यो,‘यो संगठन बिना भेदभाव पनि कसरी अगाडि बढाउनुपर्छ भन्ने उदाहरण हो।’
आईजी सिंह यसै पनि संगठनका विभिन्न जिम्मेवारीमा रहँदा आफू माथाहतमा काम राम्रो गर्दै आएका अधिकारी हुन्। जसले संगठनको नेतृत्व नै हाँकेपछि भने अपराधलगायत गुन्डागर्दीमा नियन्त्रण हुने आशा गरिएको छ।
‘प्रत्येक प्रदेश प्रहरी कार्यालयलाई अहिले निर्देशन भइसकेको छ, संगठनले कसरी काम गर्ने भन्ने। अब बढुवा भएका डीआईजीले जिम्मेवारी लिएर जाँदा यहिँबाट पनि निर्देशन हुनेछ’, एक अधिकारी भन्छन्,‘यो नियमित प्रक्रिया मात्र होइन, संगठन प्रमुखले जिम्मेवारीताका साथ लिएको अग्रसरता पनि हो।’
त्यसो त प्रहरी संगठनका विभिन्न विभाग, अस्पताललगायतको निरिक्षक गरी निर्देशन दिइसकेका आईजी सिंहले एक महिनामा गरेका कामको विषयमा पनि प्रष्ट पारिसकेका थिए। उनी चलायमान प्रहरीका रुपमा संगठनलाई स्थापित गरेर जागिरे जीवन गुजार्ने अधिकारीमा गनिन्छन्।











प्रतिक्रिया