
काठमाडौं, ११ असार । अमेरिकामा आधारित नेपाली प्रविधि कम्पनी एस्ट्रो वेद प्रालिले नेपालमा पहिलो पटक डेटिङ एप ‘एस्ट्रोपड’ सार्वजनिक गरेको छ ।
नेपालमा भरपर्दो डेटिङ एपको उपस्थिति नभएको अवस्थामा प्रयोगकर्तालाई आफ्नो मन मिल्ने जोडी खोज्न सहयोग पुर्याउने हिसाबले हिजो शुक्रबार कम्पनीले उक्त एप सार्वजनिक गरेको हो ।
‘मेड इन स्टार्स’ नाराका साथ एस्ट्रोपड सार्वजनिक गरिएको कम्पनीले बताएको छ । यो अन्य सामान्य डेटिङ एप भन्दा फरक रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत परिवेश कोइरालाले भने, ‘यसमा नेपाली युवाहरुले वैदिक ज्योतिष शास्त्रका आधारमा आफूलाई मिल्ने जोडी वा साथीहरु छनोट गर्न सक्ने सुबिधा छ र त्यसै आधारमा उनीहरुले कम्प्याटिबिलिटी टेस्ट गरेर जाँच गर्न सकिने सुबिधा रहेको छ ।’
एस्ट्रो वेद मानिसको जीवन सहज बनाउँदै उनीहरुलाई खुशी जीवन बाँच्न सल्लाह दिने उद्देश्यले ज्योतिषीय सेवा प्रदान गर्ने नेपालमा रहेको कम्पनी हो ।
एस्ट्रोपड म्याच के का लागि ?
चर्चित डेटिङ एपहरुले मानिसहरुलाई सामान्यतया राम्रा फोटोका साथमा आफ्ना विवरण राखेर आफ्ना विशेषता, व्यवहार, जीवनशैली तथा संवेदनशील पक्षलाई बढी उजागर गर्न प्रेरित गर्छन् ।
यस्तै अन्य डेटिङ एपले प्रयोगकर्तालाई आफू सुहाउँदो जोडी भेट्नका लागि अझै पुराना पट्यारलाग्दा फर्म भराउने अल्गोरिदमलाई पछ्याइरहेका छन् ।
यी डेटिङ एपहरुले प्रत्येक व्यक्तिलाई एक सेट प्रश्नमार्फत् पहिचान र वर्गीकरण गर्छन् तर सही जोडी भेट्नका लागि व्यक्तिको वास्तविक प्रवृत्ति तथा संवेदनशील पक्षलाई भने उजागर गर्न सक्दैनन् ।

यी दुवै अवस्थामा जोडी खोज्न चाहनेले अनलाइनमा भएको उक्त व्यक्ति आफ्ना लागि सही छ या छैन भन्ने थाहा पाउन थुप्रै पटक हिट एन्ड ट्रायल अर्थात् परीक्षणका लागि गरिने कुराकानी तथा भेटघाटमा भर पर्नुपर्ने हुन्छ ।
एस्ट्रोपडले वेदहरुमा भएका जोडी बनाउने पौराणिक ज्ञानलाई हालको तीव्रगतिमा चलिरहेको अत्याधुनिक डेटिङ प्लेटफर्ममा उपलब्ध गराएको छ ।
यसले प्रयोगकर्तालाई कुनै पनि व्यक्ति आफ्ना लागि सही जोडी हो वा होइन भन्ने थाहा पाउन सम्बन्धका लागि आवश्यक मुख्य ७ ओटा पक्षलाई परीक्षण तथा हिसाबकिताब गर्न मद्दत गर्छ ।
यो स्थानका आधारमा काम गर्ने डेटिङ एप हो जसले प्रयोगकर्तालाई दायाँतर्फ स्वाइप गर्नुअघि ज्योतिष विज्ञानका हिसाबले मिल्दो छ वा छैन भन्ने परीक्षण गर्न सघाउँछ । यो एपमा दायाँतर्फ स्वाइप गर्नुको मतलब कुनै पनि प्रयोगकर्ताले उक्त व्यक्तिप्रति चासो देखाएको छ भन्ने बुझाउँछ ।
हाल यो एप नेपालमा डाउनलोड गर्नका लागि गुगलको प्ले स्टोर तथा एप्पलको एप स्टोर दुबैमा उपलब्ध रहेको छ ।















प्रतिक्रिया