५ कार्तिक २०८३, बिहिबार

आत्मनिर्भर अर्थतन्त्र बनाउने आधार लघु, घरेलु तथा साना उद्योग : मन्त्री बडू

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक मुलुकमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग भएको बताएका छन् ।

‘खोजौं नेपाली, रोजौं नेपाली’ भन्ने मूल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले संयुक्त रुपमा तयार गरेको ई–कमर्श साइट एमएसएमई डट कमको बिहीबार राजधानीमा आयोजित एक समारोहमा शुभारम्भ गर्दै उनले सो कुरा बताएका हुन् ।

‘अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने मुख्य संवाहक निजी क्षेत्र हो । त्यसमा घरेलु तथा साना उद्योगहरु मुलुकका मेरुदण्ड हुन् । यस्ता उद्योग नै उत्पादन बढाउने आधार क्षेत्र हुन्,’ उनले भने । यस्ता उद्योगहरू सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ ।

‘यो क्षेत्रले मुलुकलाई आत्मनिर्भर बनाउँछ, रोजगारी सिर्जना गर्दछ । यो क्षेत्रमा समस्या के–के छन्, समाधानका लागि के गर्नुपर्छ हामी छलफल गर्न तयार छौँ,’ कार्यक्रममा उनले भने । लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरुलाई बजारीकरण, आधुनिक व्यापारीकरण र विश्वव्यापीकरणको मार्गमा लैजान ई–कमर्श साइट सञ्चालनमा ल्याइएकोमा खुशी व्यक्त गर्दै उद्योगमन्त्री बडूले भने, ‘ई–कमर्शमार्फत स्वदेशी बस्तुको प्रवर्द्धन र बजारीकरणका लागि सहज हुनेछ । यो क्षेत्रका लागि नयाँ अभ्यास हो । तपाइहरुको यो प्रयासमा सरकारको साथ रहिरहनेछ ।’

मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, स्वदेशी वस्तुको प्रवर्द्धन गर्ने र निर्यात व्यापार बढाउनेतर्फ सरकार क्रियाशील रहेको बताउँदै उनले भने, ‘आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा सरकारले मुलुकको निर्यातलाई बढाउने, उत्पादनलाई बढाउने नीति लिएको छ ।’