३ मंसिर २०८३, बिहिबार

जुरे पहिरोपीडितको प्रश्नः बेलायतलगायतबाट उठाएको राहतको दुई करोड कसले खायो?

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, ८ असार। अबको एक महिनापछि सिन्धुपाल्चोकको बलेफि गाउँपालिका र बाह्रबिसे नगरपालिका सीमानामा जुरे पहिरो गएको ८ बर्ष पूरा हुनेछ। १४५ जनाको ज्यान जानेगरी गएको उक्त पहिरोका कारण धेरै परिवारको बिल्लिबाठ भएको थियो।

तर उनै पीडितको नाममा विभिन्न क्षेत्रबाट राहत रकम करोडौं उठाए पनि हालसम्म वितरण नगरिएको विवरण सतहमा आएको छ। दाताबाट संकलित चन्दा रकम अहिलेसम्म पनि पीडितको हातमा परेको छैन।

नेपालमा कार्यालय राखेको बेलायती रक्षा मन्त्रालय अन्तर्गतको ‘ब्रिटिस फोर्स ब्रोडकास्टिङ सर्भिस’ (बिएफबीएस)का नेपाल निर्देशक विनोदध्वज खड्काको नेतृत्वमा कार्यक्रम चलाएर सहयोग रकम उठाइएको थियो। कम्तिमा २ करोड भन्दा बढी रकम उठाएर व्यक्तिको खातामा राखियो भने हालसम्म जुरे पीडितका लागि खर्च नगरिएको स्रोतले जनाएको छ।

राहत उठाउनका लागि नेपालमा चलेका कलाकारलगायतलाई रेडियोमा बोलाइएको थियो भने च्यारिटीका नाममा बेलायतमा रहेका नेपाली गोर्खा आर्मीसँग पनि रकम उठाइएको थियो। ‘उक्त रकमको हिसाबकिताब अहिलेसम्म सार्वजनिक भएको छैन। आठ बर्ष बित्यो जुरेका लागि के भयो?’, स्थानीय भन्छन्,‘यसरी पीडितका नाममा रकम उठाइयो तर दिइएन।’

कलाकार रामकृष्ण ढकालले मात्र उक्त कोषमा १ लाख दिएका थिए भने अन्य कलाकारले पनि रकम जम्मा गरेका थिए। सर्वसाधारणबाट पनि रकम उठाइएको बताइन्छ।

त्यसो त पहिरोपीडितलाई राहत उठाउने भन्दै नेपाली कांग्रेसका नेतासहित खड्काको टोली त्यहाँ पुगेको स्मरण गर्छन् एक सर्वसाधारण। उनी भन्छन्,‘त्यसपछि त राहत कहाँ कसरी आउनु?’

१७ साउन ०७१ मा मध्यराति पहाड खसेर सुनकोसी थुनिँदा मांखा, राम्चे, धुस्कुन र टेकानपुरका एक सय ४५ जनाले ज्यान गुमाएका थिए। ९७ घर पहिरोभित्र परे। केही घर डुबानमा परे र केहीचाहिँ बस्नै नसक्ने गरी जोखिममा परे। सबै गरी दुई सय २० घर प्रत्यक्ष प्रभावित भएका थिए।

जुरे पहिरोपछि मृतक परिवारले सरकारबाट प्रतिमृतक किरिया खर्च ४० हजार र एक लाख रुपैयाँ मात्र राहत पाएका छन्। महा भूकम्पपछि सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएको आवास अनुदाननै पहिरोपीडितलाई दिने निर्णय गरेको थियो। सोही अनुसार जग्गा हुनेले किस्ता लिएर घर बनाएका पनि छन्। नहुनेको अवस्था अहिले पनि उस्तै छ।