५ कार्तिक २०८३, बिहिबार

मस्यौदा तयार भएसँगै बेलायतसँग आगामी साता श्रम समझदारी हुँदै, नेपाली नर्सलाई अवसर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । बेलायत सरकारको तर्फबाट नेपाली नर्सलाई रोजगारी दिने बिषयमा नेपाल र बेलायतबीच आगामी साता श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ ।

श्रम समझदारीको मस्यौदा बनाउन गठित दुवै देशका प्रतिनिधि सम्मिलित समितिले अन्तिम मस्यौदा तयार गरेकोले आगामी साता हस्ताक्षर गर्न लागिएको हो । हिजो शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरी श्रम समझदारीको तयारीबारे छलफल गरेका थिए ।

मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरुबीच नेपाल र बेलायतबीच सन् १८१६ मा कुटनीतिक सम्वन्ध स्थापित भएदेखि रहिआएको सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको थियो । श्रम आप्रवासनको क्षेत्रमा बेलायतसँगको सम्वन्ध गौरवपूर्ण रहेको चर्चा गर्दै मन्त्री श्रेष्ठले नेपालबाट तेस्रो मुलुकमा रोजगारीका लागि जाने प्रचलन बेलायती सेनामा भर्ना प्रकृयाबाटै सुरु भएको बताए ।

नेपाल र बेलायतबीच हुने श्रम समझदारीपत्रको तयारीका लागि दुवै देशका तर्फबाट सहभागि प्रतिनिधिको संयुक्त प्रयासबाट सुरक्षा क्षेत्र भन्दा बाहिर पहिलोपटक नेपालीहरुले बेलायतमा रोजगारीको अवसर प्राप्त गर्न लागेको भन्दै मन्त्री श्रेष्ठले श्रम समझदारीको मस्यौदा समितिका सदस्यहरुलाई धन्यवाद दिए ।

बेलायतमा रोजगारीका लागि प्रारम्भमा २ हजार नर्स पठाउन तयार रहेको बताउँदै श्रेष्ठले त्यसका लागि वैदेशिक रोजगार विभागको क्षमता अभिवृद्धि, छात्रवृतिको अवसरका साथै नर्सिङ कलेजहरुको क्षमता अभिवृद्धिमा बेलायत सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए । गण्डकी प्रदेशको तनहुँ जिल्लामा कम्तीमा १ सय बेडको नर्सिङ कलेजसहितको अस्पताल निर्माण गर्ने आफ्नो योजना रहेको बताउँदै मन्त्री श्रेष्ठले बेलायत सरकारबाट सहयोगको अपेक्षा गरेको बताएका छन् ।

नेपालको स्वास्थ्य शिक्षाको गुणस्तर विश्वस्तरको रहेको चर्चा गर्नुहुँदै उहाँले नर्सबाहेक डाक्टर, फार्मेसिष्ट, ल्याव टेक्निसियनहरुलाई पनि बेलायतमा रोजगारी प्राप्त हुने विश्वास व्यक्त गरे । उनीहरुबीच नेपाली श्रमिकहरुलाई बेलायतमा रोजगारीका लागि निर्माण, ड्राइभिङ, कृषि, होटल व्यवसाय जस्ता अन्य क्षेत्रहरुमा हुने सम्भावनाबारे पनि छलफल भएको थियो ।

यसअघि नयाँ रोजगार गन्तव्यको खोजीको क्रममा मन्त्री श्रेष्ठले बेलायतसँग श्रम सम्बन्ध स्थापनाका लागि पहल गर्नुभएको थियो । बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा तयार भएको हो ।

रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनु पर्ने छैन । वैदेशिक रोजगारीलाई विविधीकरण गर्ने क्रममा आफुले आकर्षक गन्तव्यको खोजी गरिरहेको मन्त्री श्रेष्ठले बताए ।