
काठमाडौं, २४ जेठ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को २८औं वार्षिक साधारण सभा हिजो सोमबार अनमोल ब्याङ्गकेट, शंखमुलमा सम्पन्न भएको छ ।
सभामार्फत सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८को लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०७८ साल असार मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरिएको छ ।
यस्तै साधारणसभाबाट आर्थिक वर्ष २०७८/७९ का लागि बाह्य लेखापरीक्षक एमजीएस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरिएको छ भने कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह (क) तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरुको र सर्वसाधारण शेयरधनी समूह (ख) तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरुको निर्वाचनमार्फत चयन गरिएको छ ।
साथै कम्पनीको २८औं वार्षिक साधारणसभाले कम्पनीको चुक्ता पुँजी रू. २ अर्ब ५० करोड पुर्याउनका लागि मर्जरमा जाने निर्णय गरेको छ । मर्जरका लागि उपयुक्त पार्टनर खोज्न साधारणसभाले कम्पनीको सञ्चालक समितिलाई अख्तियारी समेत दिएको छ ।
‘कम्पनीले भविष्यमा कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्णय गर्न तथा तत्सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल–अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नका लागि मान्यताप्राप्त मूल्याङ्कनकर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्नलगायत मर्जरसम्बन्धी सम्पूर्ण अन्य आवश्यक प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरियो,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कम्पनीेले गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस आर्थिक वर्ष २०७७/७८ मा बीमाशुल्क आर्जन ५८ प्रतिशतले वृद्धि गरी १ अर्ब १० करोड ३३ लाख २ हजार ७६९ रूपैयाँ ५ पैसा आर्जन गर्न सफल भएको छ । त्यसैगरी गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको नाफामा ५०० प्रतिशत भन्दा बढीले वृद्धि भई १० करोड ५२ लाख ९८ हजार ८८७ रूपैयाँ २८ पैसा कायम भएको छ ।
साथै आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिसम्मको तुलनामा आर्थिक वर्ष २०७८/७९ को सोहि अवधिसम्ममा कम्पनीको कुल बीमाशुल्क आर्जन ३८ प्रतिशत भन्दा बढीले वृद्धि भई १ अर्ब २५ करोड ५१ लाख १८ हजार ७० रूपैयाँ २८ पैसा पुगेको छ । त्यसैगरी सोही अवधिमा खुद नाफा आर्जन ९८ प्रतिशत भन्दा बढीले वृद्धि भएको तथा प्रतिशेयर आय (ईपीएस) मा ९८ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।















प्रतिक्रिया