५ कार्तिक २०८३, बिहिबार

‘गठबन्धन गरेर चुनाव जितिएला तर देश बन्दैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दलहरूबीचको गठबन्धन चुनाव जित्नका लागि काम लागे पनि मुलुक निर्माणका लागि काम नलाग्ने बताएका छन् ।

गठबन्धनबाट मुलुक बन्दैन भन्ने कुरा विश्वका धेरै मुलुकमा प्रमाणित भएको दृष्टान्त सुनाउँदै उनले हाम्र्र्र्रै देशमा पनि एमालेलाई सक्ने उद्देश्यका साथ मात्रै गठबन्धन बनेको जिकिर गरेका छन् । गठबन्धन र त्यसको नेतृत्वमा रहेको सरकारले ११ महिनामा गरेका कामबाट मुलुक निर्माणमा गठबन्धन काम नलाग्ने प्रष्ट भएको उनको भनाइ छ ।

एमाले पार्टी मुख्यालय ललितपुरमा शनिबार सहकारी तथा गरिवी निवारण विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले विदेशी मुद्राको सञ्चिती, मूल्यवृद्धि, रेमिटेयान्सलगायत क्षेत्रमा देखिएका समस्याबाट गठबन्धनको हालत प्रष्ट हुने बताए । ‘एमालेभित्र पनि आगामी निर्वाचनमा गठबन्धन गरेर जानु पर्ने विषय चल्न थालेको छ,’ उनले भने, ‘चुनाव जित्नका लागि गठबन्धन ठिक भए पनि मुलुक निर्माणका लागि गठबन्धन काम लाग्दैन ।’

महासचिव पोखरेलले अगाडि भने, ‘मुलुक निर्माणका लागि एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नु पर्दछ ।’ राष्ट्रिय शक्ति बन्ने अवसरबाट कांग्रेस चुकेको भन्दै पोखरेलले स्थानीय तह निर्वाचनको वस्तुनिष्ठ समीक्षा गरी त्यसका कमीकमजोरीलाई सच्याउँदै एमालेलाई शसक्त र बलियो शक्तिका रूपमा स्थापित गर्न पार्टीको सिङ्गो पङ्क्ति जुट्नुपर्नेमा पोखरेलले जोड दिएका छन् ।

एमालेलाई मतदिने जनता बढेका छन्, महागठबन्धन, आन्तरिक व्यवस्थापन सुधार गर्न नसक्नु, राज्यकातर्फबाट भएको ज्यादती, पैसाको बढी चलखेल जस्ता कारणले सिट संख्यामा केही कमी भए पनि समग्र लोकप्रिय मतमा एमाले कमजोर छैन भन्ने तथ्य निर्वाचनले पुष्टी गरेको उनको भनाइ छ ।

‘एउटा संकल्पका साथ अगाडि बढौँ, पार्टीका हरेक व्यक्तिको मनमा मुलुक निर्माणको सोच हुनुपर्यो, त्यो सोचलाई पूरा गर्नका लागि कटिवद्ध भएर लाग्नुको विकल्प छैन,’ महासचिव पोखरेलले भने, ‘हारको मानसिकता लिएर सफल भइँदैन । असफलतालाई सफलतामा बदल्न जिम्मेवार भएर अगाडि बढ्न आवश्यक छ ।’