६ कार्तिक २०८३, शुक्रबार

बुई चढेर शक्ति आर्जन गरेका प्रचण्डका धम्कीपूर्ण गर्जनको अर्थ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ जेठ। ०७४ सालमा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा ठूलो बहुमतका साथ नेकपा एमाले र नेकपा माओवादी गठबन्धनलाई जनताले पत्याएका थिए। त्यसबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई चुनौति दिँदै भनेका थिए– अब ५० बर्ष कांग्रेसले नचिताए हुन्छ।

कांग्रेसका युवा नेता गगन थापाबाहेक उक्त भाषणको खण्डनमा कोही पनि उत्रिएनन्। सभापति शेरबहादुर देउवा शालिन र मौन हिसाबमा नै अगाडि बढेका थिए। निर्वाचनमा कांग्रेस खुम्चिनुको अभियोगको सामना पनि देउवाले नै गरेका थिए।

निर्वाचनअघि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई अविश्वासको प्रस्ताव दर्ता गरी प्रचण्डले आफू प्रधानमन्त्री बन्ने अवसरलाई उपयोग गरेका थिए भने देउवालाई पनि प्रधानमन्त्री पदमा समर्थन गरेका थिए। तर, सरकारमा रहँदा नै उनले एमालेसँग गठबन्धन गरी चुनावमा जाने सहमति र निर्णय गरेर कांग्रेसलाई धोका दिएका थिए।

पछिल्लो समय नेकपा विभाजन भएपछि घटनाक्रमले सत्ता गठबन्धन बनाई स्थानीय तहको निर्वाचनको परिणामले कांग्रेसमा अहंकार पलाएको प्रचण्डको उक्ति थियो। उनले धेरै उन्माद भए एमाले जस्तै ठेगान लगाइदिने चेतावनी दिए।

तर राष्ट्रिय राजनीतिमा शक्ति ह्रास हुँदै गएपछि कहिले देउवा त कहिले ओलीको काँधमा बसेका प्रचण्डको बोलीको कुनै तुक र अर्थ नरहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताएका छन्।

दोस्रो संविधानसभा निर्वाचनमा खुम्चिएको माओवादी प्रतिनिधि र प्रदेश सभाको अघिल्लो चुनावमा एमालेसँगको गठबन्धनमा नभएको भए कमजोर अवस्थामा हुने आँकलन गरिएको छ। उसको समानुपातिकमा त्यसबेला आएको १३ लाख मतले नै हैसियतको मापन गरिसकेको कतिपयले बताएका छन्।

एमालेको मतका कारण प्रत्यक्षमा निर्वाचन जित्ने बढेको तर एमालेविरुद्ध नै प्रचण्डले अहिले प्रहार गर्नु कांग्रेसको काँधमा बसेर शक्ति आर्जन गर्नु रहेको धेरैको बुझाई छ। कांग्रेसका कतिपय नेताले एक्लै स्थानीय तहको निर्वाचनमा गएको भए ५० प्रतिशत भन्दा बढी जित निकाल्न सकिने विश्लेषण गरेका छन्। चार सय स्थानीय तहमा ५० प्रतिशतमा विना गठबन्धन एकल जित निकालेका कारण कांग्रेसले यो संश्लेषण गरेको हो।

‘प्रचण्डको पार्टी कसरी जोगिएको छ भन्ने कुरा विर्सन भएन। चितवनमा कांग्रेसको मतले, अनि उम्मेदवारी नदिएर उनकी छोरी जिताएको कति चाँडो विर्सन थाले’, कांग्रेसका एक नेता भन्छन्,‘जनताले माओवादीलाई ठेगान लगाउन सक्छन्, कांग्रेसको खिल्लि नउडाइयोस्।’

एमालेले बाम तालमेलको तयारी गरिरहेको र त्यसो हुन नदिनका लागि मात्र गठबन्धनलाई स्वीकार गर्ने अवस्थामा कांग्रेस रहेको बताउँदै ति नेता भन्छन्,‘उनी ओलीसँग मिल्नका लागि यस्ता टर्रा अभिव्यक्ति दिइरहेका छन्। हामी यसलाई गहनताका साथ लिन्छौं।’

प्रचण्डको अहिलेको अभिव्यक्तिमा आगामी निर्वाचनमा बाम तालमेलका लागि भइरहेका प्रयासको संकेत समेत मिलेको कतिपय बताउँछन्। कम्युनिस्ट एकीकरण नभए पनि चुनावी तालमेलका निम्ति एमालेका नेतासँग कुराकानी भइरहेको भन्ने चर्चाबीच प्रचण्डको कांग्रेस लक्षित अभिव्यक्ति अर्थपूर्ण हुनसक्ने अनुमान गरिएको छ।