५ कार्तिक २०८३, बिहिबार

सेनेटरी प्याड आयातमा ९० प्रतिशत छूट दिएपछि उत्पादक संघले दियो संघर्षको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाडौं, १८ जेठ । सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छूट दिने निर्णय गरेसँगै प्याड उत्पादक संघले सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी दिएको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गर्दै सरकारको यस्तो निर्णयले नेपालका प्याड उद्योगहरु धराशयी हुने भन्दै तत्काल निर्णय फिर्ता नलिए संघर्षमा जाने चेतावनी दिएको हो । नेपालमा ठूला साना गरी ३५–४० वटा उद्योगहरु सञ्चालनमा रहेका छन् । ६ अर्वको लगानीमा ९० करोड थान सेनेटरी प्याड उत्पादन भइरहेको छ । ६ हजार जनाले रोजगारी पाइरहेका छन् । जसमध्ये अधिकांश महिलाहरू नै रहेको संघले जनाएको छ ।

बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९०% भन्सार महशुल छूटको घोषणा गरेको छ । हालको १५% रहेको भन्सार महशुल अब १.५% मात्र लागू हुनेछ जबकी कच्चा पदार्थमा १% भन्सार महशुलको घोषणा गरिएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरियलमा लाग्ने ५४ अन्तःशुल्कबारे कुनै घोषणा नगरेको भन्दै संघले आपत्ति जनाएको हो ।

तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नुपर्ने भन्दै सरकारको यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धी भई बन्द हुने ठहर संघले गरेको छ । डेढ अर्बको हालको आयात अत्यधिक बढेर पाँच वर्षमा वार्षिक ७५ अर्ब पुग्ने र व्यापार घाटाको डरलाग्दो घेराबाट उम्किन निजी क्षेत्र नसक्ने भन्दै आपत्ति जनाएको हो ।