
काठमाडौं, १४ जेठ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमलाई मर्यादित बनाउन मिडिया साक्षरता (लिटिरेसी) मा सबैले ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
‘पत्रकारितामा नयाँ पुस्ताको आगमन बढिरहेको छ, अनलाइनमा झन् बढी छ, यो पुस्ताकालागि आचारसंहितालगायतका विषयमा साक्षरता कार्यक्रम बढाउनुपर्ने देखिन्छ,’ काउन्सिलद्वारा शुक्रबार आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षामा बस्नेतले भने ।
मिडिया साक्षरताका लागि सरकारले पर्याप्त स्रोत/साधन उपलब्ध गराउनुपर्ने बस्नेतको सुझाव थियो । काउन्सिलले खासगरी नयाँ आउने अनलाइन मिडियाका सञ्चालक र पत्रकारमा केन्द्रित भई नियमितरूपमा आचारसंहिता अभिमुखीकरण अभियान थालेको उनको भनाइ छ ।
सोही क्रममा विषय विज्ञका रूपमा आएका त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार विषयका सह–प्राध्यापक डा.कुन्दन अर्यालले काउन्सिलको पछिल्लो कदमको स्वागत गरे । उनले सञ्चारकर्मी आफैँ सक्षम नभई पत्रकारिता स्वच्छ नहुने धारणा व्यक्त गरे । पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५ मा रहेको सम्पादकीय स्वतन्त्रतामा केन्द्रित भएर उनले आफ्नो प्रस्तुति राखेका थिए ।

सम्पादकले आफूले लेखेको र आफ्नो मिडियाबाट छापिएका सबै कुराको जिम्मेवारी लिन सक्नुपर्ने उनले बताए । पत्रकार आफैँ स्वतन्त्र हुनसके मात्र सम्पादकीय स्वतन्त्रता बच्ने भन्दै दबाब र प्रभावमा सम्पादक पर्न नहुने उनको सुझाव थियो ।
काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूमा उल्लेख प्रावधानबारे जानकारी दिए । उनले महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा उल्लेख प्रावधानहरूबारे जानकारी दिए ।
वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनाल र काउन्सिलका कर्मचारीको सहभागिता रहेको उक्त कक्षमा भौतिक रूपमा ३२ जना र जुम मार्फत १२ जनाले प्रशिक्षण लिएका थिए । सहभागीमध्ये आवश्यक प्रक्रिया पुगेका अनलाइन सञ्चार माध्यमलाई प्रमाणपत्र तथा काउन्सिलले जारी गरेको आचारसंहिता लगायतका पुस्तक प्रदान गरिएको थियो ।















प्रतिक्रिया