
काठमाडौँ, १२ जेठ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायक विदेशमन्त्रीले तिब्बती शरणार्थी शिविरमा पुगेको घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन् ।
बिहीबार संसदमा नीति तथा कार्यक्रमबारे छलफलमा सहभागी हुँदै उनले सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले सरकारको परराष्ट्र नीति लाचार भएको टिप्पणी समेत गरे ।
ओलीले छिमेकी राष्ट्रहरूको संवेदनशीलता र सन्तुलित सम्बन्धमा सरकारले ध्यान दिन नसकेको बताए ।
ओलीले प्रश्न गरे, ‘एउटा सहायक मन्त्री आउँदा सरकारको स्कर्टिङ लिएर गुम्बागुम्बामा कसरी पुग्छन् ? कसले अनुमति दियो ? किन अनुमति दियो ? छिमेक सम्बन्धप्रति हाम्रो इमान्दारिता हुन्छ कि हुँदैन ? हाम्रो संविधानले भनेको तटस्थता यही हो ?’
‘एउटा सहायक विदेशमन्त्री आउँदा नै यो सरकार थुरथुर हुन्छ, तीन दिन कामज्वरो छुट्छ,’ उनले भने, ‘कहाँसम्मको लाचारी हो ? यस्तो सरकारले कसरी देशको स्वाधीनता रक्षा गर्छ ?’
ओलीले थपे, ‘नेपालको एक चीन नीतिको पक्षमा छ कि छैन ? छिमेकीहरूसँग मुखले एउटा कुरा व्यवहारमा अर्को कुरा गर्न मिल्छ ? आफ्नो भूमि अर्को देशको विरुद्ध प्रयोग गर्न नदिने नीतिमा सरकार अडिक छ कि छैन ?’















प्रतिक्रिया