३ मंसिर २०८३, बिहिबार

एमालेले जित्न सक्थ्यो वीरगञ्ज र पोखरा महानगर प्रमुख, गुमाउनुको कारण यस्तो छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ जेठ। देशकै प्रमुख दल नेकपा एमालेले ६ वटै महानगरपालिका प्रमुख गुमाएको विषयमा समिक्षा गर्ने तयारी गरेको छ। गठबन्धनसँग एक्लै मैदानमा उत्रिएको एमालेले अन्य गुमाए पनि वीरगञ्ज र पोखरा महानगरपालिकामा प्रमुख जित्ने सम्भावना रहेको थियो।

वीरगञ्ज महानगरपालिका प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । महानगर प्रमुखमा सत्ता गठबन्धनबाट साझा उम्मेदवारी दिएका जनता समाजवादीका उम्मेदवार राजेशमान सिंह विजयी भए।

सिंहले ४६ हजार २ सय १५ मत ल्याएर नगर प्रमुखमा निर्वाचित भएका हुन्। सिंहका निकटम् प्रतिद्वन्दी  नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६ सय ७१ मत मात्र प्राप्त गरेका थिए। सिंह २२ हजार ५ सय ४४ मतान्तरले विजयी भएका थिए।

वीरगञ्जमा गठबन्धनको भन्दा पनि सिंहको व्यक्तिगत लोकप्रियताको मत ज्यादा आएको बताइन्छ। सिंह नेकपा एमालेमा आउने तयारीमा थिए। तर, त्यसअघि नै रातारात बालकोट आएर सरावगी एमाले प्रवेश गरेपछि उनी जनता समाजवादीमा प्रवेश गरेका थिए।

‘स्थानीय स्तरमा सिंहको लोकप्रियता बलियो थियो। सरावगीको कामका कारण जनता रुष्ट पनि थिए तर एमालेले बुझ्न सकेन’, स्थानीय भन्छन्।

त्यसको त चुनावको परिणामको ट्रेन्डलाई हेर्दा पनि चिरीबाबु महर्जन र रेनु दाहाल बाहेक महानगर प्रमुखमा अन्य दोहोरिएका छैनन्। महर्जनले काम गरेका कारण र दाहाल पनि कामसँगै राज्य शक्ति नै सक्रिय हुँदा जित्न सफल भएका हुन्।

पोखरा महानगरपालिकामा भने रणनीतिक रुपमा उम्मेदवार चयनमा गल्ती गर्दा एमालेले प्रमुख पद गुमाउनु परेको बताइन्छ। मेयरका लागि तय गरिएको पहिलो नाम दीपक पौडेल थियो। जो विवादमा तानिए। उनलाई चोरीको आरोप लगाइएको प्रचार गरेपछि पार्टीगत रुपमा यसै पनि घाटा हुने विश्लेषण गरिएको छ।

पौडेलको उम्मेदवारी नगराउने भन्दै सिफारिसमा नपरेका कृष्ण थापालाई एमालेले मैदानमा उतारेको थियो। पोखरामा प्रभाव पार्न सक्ने नेताहरूलाई राम्रोसँग व्यवस्थापन गर्न नसक्दा गुमेको हो।

यसबीचमा नेकपा एमालेको विभाजनको असर थोरै भए पनि नेतृत्व तहमा नै अन्तरघातका कतिपय प्रसङ्ग र प्रमाण बाहिर आएका थिए। ‘जनताले पत्याउनका लागि स्थानीय स्तरमा लोकप्रिय नेतृत्वलाई स्थान दिनुपर्ने थियो तर नेताको स्वार्थअनुकुलताले पराजय भोगियो’, स्थानीय एक नेता भन्छन्।