बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

धराने जनताको मत, दलहरूलाई दरो दनक !

डम्बरकृष्ण श्रेष्ठ (हङकङ) २०७९ जेठ ८ गते २२:२६

हर्क साम्पाङ

धराने जनताले यस पटक राजनैतिक स्वार्थ नहेरी, पार्टीको चस्मा खोलेर धरान र धराने जनताका लागी केही गर्छु भनेर लागी परेका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई मेयरमा जिताउँदा मलाई भने आश्चर्य लागेन ।

जित्ने सम्भावना भएका मनोज मेयाङ्बोले टिकट नपाउनु र काँग्रेस सहितको गठबन्धन र एमालेले गतिलो उम्मेदवार नदिनुले ‘भुईमान्छे’ साम्पाङको उदय निश्चित नै थियो ।

अहिलेको दूषित राजनीतिक चलखेलको बिचमा धराने जनताले चुनावमा पार्टी नहेरी ब्याक्ति हेरेर भोट हालेका छन् । उपमेयर–कार्यवाहक मेयर रहिसकेकी मञ्जु भण्डारी र बुढासुब्बा गोल्ड कप, एन्फा एकेडेमी लगायतका निकायका हर्ताकर्ता रहिसकेका किशोर राईलाई जनताले रूचाएनन । उनीहरूको विवादास्पद काम र छवि देखे–जानेका जनताले सूर्य र रुख कै भरमा तिनलाई नै आँखा चिम्लेर मत दिएनन् ।

जनताले यी दुई उम्मेदवार छाडेर तेस्रो मान्छे रोजेमा अचम्म नमाने हुन्छ भनेर मैले धेरैलाई भनेको पनि थिए । ती तेस्रो उम्मेदवार ‘लौरो’ लिएर उठेका साम्पाङ बाहेक अरू थिएनन् । टोल–टोलमा मत माग्न जाँदा स्वागत समेत नगरेका तिनै जनताले चुपचाप उनको कुरा सुने र अरूको तुलनामा उनैलाई रोजे र धरानको सडकमा आन्दोलन गरिहिँड्ने ‘भुईमान्छे’ लाई मेयर नै बनाइदिए । हिजो जनताको समस्याको समाधानका लागी हार–गुहार गर्दा जो बाट हेपिएका, पिटिएका र प्रहरी समेत लगाएर पक्राउ गरिएका हर्क आज तिनैलाई हराएर विजयी बनेका छन् ।

विगत १० वर्षदेखि एक्लै र सानो समूह लिएर जनताका समस्या समाधानका लागी लडिरहेका र जनताका घरदैलोमा पुगिरहेका हर्क साम्पाङलाई चुपचाप मत दिएर धराने जनताले दलहरूलाई दरो दनक दिएका छन् । चुनावका समय र त्यस अघिका उनको विचार र ब्यावहार हेर्दा केही गर्लान् कि जस्तो देखिन्छ ।

सबै क्षेत्रका विज्ञको सुझाव लिएर चुस्त र केही गर्न सक्ने टिम बनाएर भ्रष्टाचार र अनियमिततालाई धपाएर अघि बढ्न जरुरी छ । धरानको खानेपानी समस्या समाधान सप्तकोसीको पानीबाट मात्र सम्भव छ भन्ने उनले बुझिसकेकाले समस्याबाट छुटकारा पाउने योजना फत्ते गर्न लाग्नु पर्ने देखिन्छ । अब उनको परीक्षाको घडी सुरु भएको छ । बधाई तथा शुभकामना !

प्रतिक्रिया
सम्बन्धित