मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

मेट्रो कलेजमा जैविक विविधता दिवस मनाइयो

दैनिक नेपाल २०७९ जेठ ८ गते २०:०४

तुलसीपुर, ८ जेठ । तुलसीपुर मेट्रो कलेजमा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस विशेष कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।

वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरूले ‘जैविक विविधता संरक्षणमा हाम्रो दायित्व’ विषयक वक्तृत्वकलाको आयोजना गरेर दिवस मनाएका हुन् । कार्यक्रममा सहभागीहरूले जैविक विविधताको संरक्षणमा सबैले ध्यान दिनु आजको आवश्यकता भएको औंल्याएका थिए । उनीहरूले वातावरणीय सन्तुलन कायम गर्नका लागि वनस्पति र जीवको सन्तुलन कायम हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि कलेजका प्रमुख बसन्त आचार्यले जैविक विविधताको सन्देशलाई गाउँ–गाउँमा पुर्याउनुपर्ने कुरामा जोड दिए । उनले जैविक विविधताको संरक्षण हुन नसके सम्पूर्ण मानव अस्तित्व सङ्कटमा पर्ने समेत बताए । ‘जैविक विविधता कायम गर्न सके पर्यटनमा समेत यसले महत्वपूर्ण टेवा पुर्याउन सक्दछ,’ प्रमुख अतिथि आचार्यले भने ।

कार्यक्रममा दिया शर्मा प्रथम, सन्दिप मल्ल द्वितीय र मुनराज बुढा तेस्रो भएका थिए । हेरम्ब थापाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण भुवन बस्नेतले गरेका थिए । कार्यक्रममा शिक्षकहरू लक्ष्मी केसी, कल्पना वली र सचिन सुवेदीले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।

जैविक विविधताको महत्वलाई दर्शाउनका लागि हरेक वर्ष मे २२ मा जैविक विविधता दिवस मनाइने गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित