
न्युयोर्क, ७ जेठ। जीवनलाई खुसीसँग अविछिन्न राख्नुपर्छ भन्ने मान्यतामा जीवनको उत्तरार्धमा रमाउने जोडी हुन् छेवाङ र आङफूर्वा शेर्पा। तीन सन्तानका धनी यो परिवार अमेरिकामा रमाउँछन्।
नेपालमाथि सँधै गर्व गर्ने यो जोडीमा अर्को हर्षविभोरता थपिएको छ– कान्छा छोरा साङे शेर्पा अमेरिकी वकिल बनेसँगै। सम्भवत नेपाली मूलमा शेर्पा समुदायबाट पहिलो वकिल हुन् साङे।
‘सानो छँदा छोरा पढाईमा दाजु र दिदी जस्तो मेहनती छैन भन्ने गरिन्थ्यो तर आज ऊ अमेरिकाको वकिल बनेको छ’, पिता छेवाङ सुनाउँछन्।
साङेले उत्कृष्ट जिपिए हासिल गर्दै एकाउन्टिङ डिग्री समेत गरिसकेका छन्। रजर विलियम विश्वविद्यालयबाट कानुन डिग्रीमा ग्राजुएट उनको दोस्रो उपलव्धी हो।

दुई वटा विषयमा ग्राजुएट गर्ने नेपाली मूलको शेर्पा समुदायका पहिलो व्यक्ति भन्दा पनि राम्रो व्यक्ति भन्दा साङे खुसी हुन्छन्। ‘म पहिलो हुनका लागि होइन, यी उपाधि र उपलव्धी असल कामका लागि होस् भन्ने चहान्छु’, साङे भन्छन्,‘मेरो लक्ष्य पहिलो भन्दा पनि सफल व्यक्ति, अन्तर्राष्ट्रिय कानुनविदसँगको प्रतिस्पर्धा हो।’
अध्ययनका क्रममा नै साङेले ‘लिगल नेगोसिएसनमा कल अवार्ड’ले सम्मान पाइसकेका छन्। ‘लिगल मेडिएटर लाइसेन्स’, ‘रिसिपेन्ट अफ सिटेशन फ्रम सिनेट अफ रोदे आइसल्यान्ड, रिसिपेन्ट अफ कमेन्डेशन फ्रम एटोर्नी जेनेरल अफ स्टेट अफ रोदे आइसल्यान्ड प्रमाणपत्र पनि साँगेले पाइसकेका छन्।
आगामी अगस्ट महिनादेखि उनले न्युर्योकको जिल्ला सहायक न्यायाधीवक्तका रुपमा आफ्नो कानुन कर्मको यात्रा सुरु गर्दैछन्।
छोराको आफ्नो लगनशिलता र मिहेनतका कारण यो सफलता हात परेकोमा आमा आङफूर्वा पनि निक्कै खुसी छन्। ‘हामीले सन्तानलाई विश्वास गरेका छौं र उनीहरुको निर्णयलाई समर्थन गर्दै गयौं। उनीहरुको सफलताका निम्ति धैर्यतासाथ प्रतिक्षा गर्दा आज यो अवसर प्राप्त भयो’, उनले भनिन्।
घरमा उल्लासपूर्ण शैक्षिक वातावरण बनाई सन्तानको शिक्षा दिक्षालाई सहज बनाउने श्रेय पत्नी आङफूर्वालाई जाने बताउँदै छेवाङ भन्छन्,‘म त बाबु कम र साथी ज्यादा बन्ने प्रयासमा लागें।’
सहज वातावरणसहित सकारात्मक सोचाईको परिवारमा कोही भन्दा पनि कोही असफल छैनन्। त्यसैले यो सफलता हात लागेको शेर्पा परिवारलाई चिन्नेहरू बताउँछन्।











प्रतिक्रिया