
काठमाडौं, २ जेठ । स्याङ्जा वालिङ नगरपालिका–१ को वडा सदस्यमा लक्ष्मीपति पौडेलको पराजय राजनीतिक इतिहासको नजरअन्दाज हुन नसक्ने स्पष्ट छ। राजनीतिक इतिहास र विरासतमा नामी भए पनि कहिलेकाहीँ चुनावी प्रतिस्पर्धामा अचम्मलाग्दा परिणाम स्वभाविक पनि मान्नुपर्छ।
अझ नेकपा एमालेको वर्चश्व नरहेको उक्त वडामा आदेशका आधारमा उम्मेदवार बनेका लक्ष्मीपतिले यसलाई स्वभाविक रुपमा लिएका छन्। तर, अस्वभाविक टिप्पणी र चर्चा भएकोप्रति भने उनलाई उदेक पनि लाग्दो हो।
०३७ सालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा जीवनलाई दौडाउन सुरु गरेका लक्ष्मीपति पूर्वमन्त्री तथा नेकपा एमालेकी सचिव पद्मा अर्यालका पति हुन्। तर, अर्याल आफूलाई लक्ष्मीपतिकी राजनीतिक विद्यार्थी ठान्छिन्। ‘हाम्रो सम्बन्ध जोडिनुअघि नै उहाँको पुरै परिवार कम्युनिस्ट राजनीतिमा सक्रिय हुनुहुन्थ्यो, म त उहाँकी विद्यार्थी हुँ’, अर्याल भन्छिन्।
हुन पनि लक्ष्मीपतिको नाम नयाँ होइन। उनी ०४४, ०४५, ०४६ सालमा त जेल नै बसेका थिए। कम्युनिस्ट पार्टीको सदस्यता, फेरि पूर्णकालिन सदस्य र तत्कालिन जिल्ला विकास समिति स्याङ्जाको उपसभापतिका रुपमा निर्वाचित भएर काम गरेका लक्ष्मीपतिको पारिवारिक राजनीतिक संघर्ष निक्कै घोचक छ।
दाजु षडानन्द पौडेल राजनीतिमा नै सक्रिय छन्। तर, कम्युनिस्ट राजनीतिमा अहोरात्र खटिएका भाई पुरुषोत्तम पौडेलको हत्या भएको थियो। विरामी भई भारत उपचारका क्रममा जाँदा अज्ञात समूहले हत्या गरेका थिए।
नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालयमा रहेका लक्ष्मीपतिको आफ्नै राजनीतिक ओजन छ। प्रायले उनको यो ओजनको मापन नै नगरी पूर्वमन्त्री पद्मा अर्यालका पति भनेर सम्बोधन गरेका थिए। ‘उहाँको राजनीतिक संघर्षले त मलाई प्रेरणा मिलेको हो। मेरो अहिलेसम्मको सक्रियता भनेको नै लक्ष्मीपति पौडेलले दिएको कम्युनिस्ट प्रेरणा हो’, अर्याल थप्छिन्।
लक्ष्मीपतिले एमालेले बोकाएको जिम्मालाई सकारात्मक उत्तरादयीत्वका रुपमा जहिल्यै बहन गरेका थिए र छन्। ‘राजनीतिमा पार्टीले दिएको जिम्मेवारीलाई उहाँले गरेको इमान्दारीतापूर्ण कामको बारेमा सम्झनुपर्छ’, अर्याल जोड्छिन्।
लक्ष्मीपतिको राजनीति एउटा चुनावको पराजयसँग मात्र जडित छैन। उनी विभिन्न सामाजिक संघ संस्थामा रहेर समाज सेवामा उत्तिकै सक्रिय छन्। स्याङ्जा त एउटा जिल्ला भयो उनले पुरै गण्डकी प्रदेशभित्र सामाजिक सेवाको छापलाई कायम राखेका छन्।















प्रतिक्रिया