६ कार्तिक २०८३, शुक्रबार

बाबुराम भट्टराईले स्वस्तिक छापसमेतको मतपत्र देखाएपछि चर्को आलेचना, १५ हजारसम्म जरिवाना हुनसक्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० वैशाख । कुनै पनि किसिमको मतदान भनेको व्यक्तिको स्वतन्त्र अधिकार हो । र यो सधैँ गोप्य हुने गर्दछ ।

त्यस्तै, मतपत्रमा आफूले छाप लगाइसकेपछि कसैलाई पनि देखाउन नमिल्ने निर्वाचनको प्रावधान रहेको छ ।

तर, देशकै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचनको यो सामान्य नियमकै धज्जी उडाएका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराईले आज आफूले मतदान गरेको तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरे ।

उनले राखेकोमध्ये एउटा तस्वीरमा मतपत्रमा लगाइएको स्वस्तिक छापसमेत देखिएको छ । यसबाट गोप्य मतदानसम्बन्धी नियम उल्लंघन भएको छ ।

डा. भट्टराईले गोरखाको पानापा १ अन्नपूर्ण मावि बुथमा बिहान ८ः२५ बजे मतदान गरेका थिए ।

उनले पोस्ट गरेको तस्वीमा मतपत्रको ३ वटा स्थनमा छाता चिन्हमा स्वस्तिक छाप लगाएको देखिन्छ । सामाजिक सञ्जाल प्रयोकर्ताहरुले डा. भट्टराईको बौद्धिकताको समेत आलोचना गरेका छन् ।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार यसरी मत संकेत सार्वजनिक गर्न पाइँदैन । ऐनको दफा ९ मा मत संकेत सार्वजनिक गरेमा निर्वाचन अधिकृतले १५ हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । अब यसरी हेर्दा उनी पनि कारवाहीको भागीदार बन्न सक्ने देखिन्छ ।

ऐनको दफा ९ को उफदफा १ मा भनिएको भनिएको छ– ‘कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत संकेत स्थलमा मत संकेत नगरी त्यसभन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न हुँदैन ।

उपदफा २ मा यस्तो कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ । यस्तै, उपदफा ३ मा भनिएको छ, ‘उफदफा १ विपरीताको कार्य गरी कसैले मतपेटिकामा खसाली नसकेको भए मतदान अधिकृतले त्यस्तो मतपत्रलाई छुट्टै खाममा राखी त्यस्तो खाममा सोही व्यहोरा उल्लेख गरी सीलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्ने छ र त्यस्तो मतपत्र गणना गरिने छैन ।’