६ कार्तिक २०८३, शुक्रबार

नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु हामी सबैको साझा कर्तव्य हो : राष्ट्रपति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु सबै नेपालीजनको साझा कर्तव्य भएका बताएकी छिन् ।

इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले सो कुरा बताएकी हुन् । इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवर्द्धन गर्न टेवा पुग्ने बिश्वास राष्ट्रपति भण्डारीको छ ।

राष्ट्रपति भण्डारीले आज मंगलबार जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘ईद (ईदउलफित्र)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु ।’

यो पर्वले नेपालीहरू बीच राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गरी सभ्य, समुन्नत र समृद्ध समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उनले गरेकी छिन् । ‘ईद पर्वले विविधतायुक्त नेपाली समाजमा विद्यमान सहिष्णुता र सहकार्यको संस्कृतिलाई थप सुदृढ बनाउन मद्दत पु¥याएको छ,’ सन्देशमा भनिएको छ, ‘इस्लाम समुदायमा रहेको दान गर्ने परम्पराका साथै ईदको अवसरमा मान्यजनबाट आशिर्वाद लिने एवं आपसमा खुशी आदानप्रदान गर्ने प्रचलनले नेपाली संस्कृतिमा अन्तर्निहित प्रबल मानवीय पक्षलाई प्रतिविम्वित गर्दछ ।’

सन्देशमा विविधता नै नेपाली समाजको पहिचान र सामथ्र्यको रूपमा रहिआएको उल्लेख गर्दै भनिएको छ, ‘मुलुकमा रहेका अनेकौँ जातजाति, भाषा, धर्म र संस्कृतिलाई एकताको एउटै मालामा गाँसेर हाम्रो संविधानले सबैलाई समान अवसर प्रदान गरेको छ, संविधानको यस पवित्र भावनालाई आत्मसात् गरी नेपाली राष्ट्रियता र राष्ट्रिय एकताको प्रवर्द्धन गर्नु हामी सबैको साझा कर्तव्य हो ।’