
काठमाडौँ, १९ वैशाख । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितविरुद्ध यौन दुराचारको आरोप लगाएकी पूर्वकर्मचारी रश्मिला प्रजापतिलाई आर्थिक अनियमितताका कारण हटाइएको खुलेको छ ।
उनले आफूमाथि स्थापितले यौन दुर्व्यवहार गरेको आरोप लगाए पनि प्रजापतिलाई आर्थिक अनियमितताका कारण हटाइएको खुलेको छ ।
आफूलाई हटाइएपछि प्रजापतिले स्थापितविरुद्ध आरोप लगाएको खुल्न आएको हो ।
कामपाको हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रममा शाखा अधिकृतका रुपमा कार्यरत प्रजापतिले गरेका आर्थिक हिनामिना र अनियमितताको सम्बन्धमा छानबिन गर्न समिति समेत गरिएको थियो । समितिले तयार पारेको प्रतिवेदनका आधारमा उनलाई हटाइएको कामपाको श्रोतले जानकारी दिएको छ ।
प्रजापतिले आफ्ना गाडी चालक र अन्य एक कर्मचारीलाई अपशब्द प्रयोग गरी गालिगलौज गरेपछि तत्कालीन कर्मचारी युनियनले उनले गरेका अनियमित कार्यहरू लगायत अन्य मागहरू जोडेर आन्दोलन समेत गरेका थिए ।
कर्मचारीहरुले प्रजापतिमाथि कारवाहीको माग गर्दै ४ दिनसम्म फोहर समेत उठाएका थिएनन् ।
आन्दोलनको समाधान गर्न बसेको बैठकले पहिलो निर्णय नै प्रजापतिलाई हटाउने गरेको खुलासा भएको छ ।
बैठकले रश्मिला प्रजापतिलाई तत्कालै हनुमानढोका दरवार क्षेत्र संरक्षण कार्यक्रमबाट हटाएर कामपाको अतिरिक्त समूहमा सरुवा गर्ने, निजबाट भए गरेका अनियमितताको छानबिन गर्ने र त्यसका लागि चार कर्मचारी संगठनका प्रतिनिधि २÷२ जना र कार्यकारी अधिकृतले खटाएको २ जना समेतको टोली गठन गरी छानबिन गर्ने र १ हप्ता भित्र प्रतिवेदन लिने भनी निर्णय गरेको थियो ।
त्यस्तै, छानबिन गर्दा दोषी ठहरिएर कारवाही गर्ने बैठकले निर्णय गरेको थियो ।
पछि उक्त बैठकको निर्णय अनुसार गठन गरिएको छानबिन समितिले दिएको प्रतिवेदनकै आधारमा रश्मिला प्रजापतिलाई वि.सं. २०६० कार्तिक ३ गते अवकाश दिइएको थियो ।
उनलाई दिइएको अवकाश पत्रमा तत्कालीन नि. कार्यकारी अधिकृत गोपालप्रसाद पराजुलीको हस्ताक्षर रहेको छ ।
प्रजापतिमाथि छानबिन तथा कारवाही गरिँदा स्थापित मेयरमा नभएको पनि स्पष्ट भएको छ । स्थापित वि.सं. २०६० असोज १२ गते मात्रै मनोनित मेयरका रुपमा महानगरपालिका दोश्रो पटक प्रवेश गरेका थिए । अर्थात प्रजापतिलाई कारवाही गर्ने निर्णय स्थापित जानुभन्दा अघि नै भइसकेको थियो ।
त्यसको कार्यान्वयन मात्रै उनी गइसकेपछि गरिएको देखिन्छ । स्थापित त्यतिबेला केवल ९ महिना मात्रै कामपाका मेयर भएका थिए । उनी २०६१ जेठ ८ गते राजीनामा दिई महानगरपालिबाट निस्केका थिए । स्मरणीय छ, उनी २०५४ देखि २०५९ सम्म निर्वाचित मेयर थिए ।
प्रजापतिले आफूमाथि लागेको आर्थिक अनियमितताको कुरा लुकाएको तत्कालीन रुपमा आन्दोलन गरेका कर्मचारीहरुले दावी गरेका छन् ।
















प्रतिक्रिया