६ कार्तिक २०८३, शुक्रबार

फेरि बढेर आयो इन्धनको मूल्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपालका लागि इन्धनको नयाँ मूल्य पठाएको छ ।

नेपाल आयल निगमले आइतबार विज्ञप्ति जारी गर्दै आईओसीले नयाँ मूल्य पठाएको जानकारी दिएको हो । नयाँ मूल्यबारे भने निगमले विज्ञप्तिमा उल्लेख गरेको छैन ।

त्यस्तै भारतले नयाँ मूल्यसूची पठाए पनि नेपालमा इन्धनको मूल्य हेरफेर हुन्छ कि हुँदैन भन्नेबारे पनि अहिलेसम्म निगमले जानकारी दिएको छैन ।

विज्ञप्तिका अनुसार आईओसीले नयाँ मूल्य पठाएसँगै निगमलाई आगामी १५ दिनमा करीब पाँच अर्ब १९ करोड रूपैयाँ घाटा हुने देखिएको छ ।

आईओसीले पठाएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २३.०२ रूपैयाँ र डिजेलमा ४०.१३ रूपैयाँ घाटा हुने देखिएको छ । हाल पेट्रोल लिटरको एक सय ६० र डिजेल १४३ रूपैयाँमा विक्री भइरहेको छ ।

वैशाख १८ गतेको नयाँ मूल्यअनुसार निगमलाई पेट्रोल खरिद लागत भने १८३.०२ रूपैयाँ र डिजेलको १८३.१३ रूपैयाँ पर्छ ।

त्यस्तै प्रतिसिलिन्डर एक हजार ६ सयमा बिक्री भइरहेको खाना पकाउने एलपी ग्यासमा निगमलाई एक हजार पचास रूपैयाँ १८ पैसा घाटा हुने निगमले जनाएको छ । ग्यासको खरिद लागत २६५०.१८ रूपैयाँ छ ।

यसअघि वैशाख ३ गते आईओसीले पठाएको भन्दा आइतबारको मूल्यमा निगमलाई पेट्रोल र डिजेलमा घाटा बढेको देखिएको छ । त्यस्तै एलपी ग्यासमा पनि घाटा बढेको छ ।

निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ । मट्टीतेलमा लिटरको २.८१ रूपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १२.६४ रूपैयाँ र बाह्यतर्फ ६४.६९ रूपैयाँ नाफा रहेको निगमले जनाएको छ ।

मट्टीतेल र हवाई इन्धनको नाफा पनि वैशाख ३ को तुलनामा कम भएको छ । अब मट्टीतेलको खरीद लागत १४०.१९ रूपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फको १४३.३६ रूपैयाँ र बाह्यतर्फको १२३.७८ रूपैयाँ रहेको विज्ञप्तिमा उल्लेख छ ।

वैशाख ३ को मूल्यअनुसार निगमलाई १५ दिनमा करीब तीन अर्ब ७४ करोड रूपैयाँ घाटा हुने देखिएको थियो । वैशाख १८ गते आइतबार नयाँ मूल्य आएसँगै अब घाटा पाँच अर्ब नाघ्ने देखिएको निगमको विज्ञप्तिमा उल्लेख छ ।