
चितवन, १८ वैशाख। भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिनुअघि रेणु दाहालले कार्यकर्तालाई मनपरि रकम बाँडेको खुलासा भएको छ।
१८ चैतमा नगर कार्यपालिकाको ६४ औँ बैठक राखेर निर्माण सम्पन्न नभएको आयोजना, आफू निकटका नेता कार्यकर्ता लगायतलाई लाखौँ रकम बाँड्ने निर्णय दाहालले गरेकी हुन्।
महानगर कार्यपालिकाको अन्तिम बैठकमा माइन्यूट नै गरेर उपचार खर्चको नाममा विभिन्न व्यक्तिलाई ६ लाख ५५ हजार रुपैयाँ बाँड्ने निर्णय गरिएको छ। उक्त रकम कम्तिमा १० हजारदेखि एक लाख रुपैयाँसम्म रहेको छ।
२१ जनालाई वितरण गरिएको रकम विवरणमा ५० हजारमाथि उपचार खर्च दिइएका व्यक्तिहरुको रोगको विवरण तथा रकम दिनुपर्ने अवस्था प्रष्ट नखुलाई रकम मात्रै दिने उल्लेख गरिएको छ। भरतपुर १० का खेम दर्जीको रकम पाउनुपर्ने अवस्था नै उल्लेख नगरी एक लाख रुपैयाँ दिने निर्णय गरिएको छ।
त्यस्तै ठेगाना समेत नखुलाइएका बुधन महतोको नाममा ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ रकम पाएका केदारमान आङ्दम्बेको पनि रोग के हो समेत उल्लेख नगरी बाँडिएको छ।
त्यसैगरी भरतपुर महानगरको वडा नम्बर ८ कार्यालयको २ लाख रुपैयाँबाट ८ जना व्यक्तिलाई ३० र २० हजार रुपैयाँका दरले रकम बाँडिएको छ। जसमा चलिरहेको पसल सञ्चालन खर्च विवरण उल्लेख गरेर ३ जनालाई ३० र २० हजार रुपैयाँका दरले रकम वितरण गरिएको छ।
बैठकको निर्णय नम्बर १८ मा उल्लेख गरिएको रकम वितरण विवरणमा वडास्तरीय वार्षिक बजेटबाट विनियोजन भएको विपन्न परिवारलाई सहयोग शीर्षकमा वडाबाट नै सिफारिस भएअनुसार बाँड्ने उल्लेख गरिएको छ।















प्रतिक्रिया