३ मंसिर २०८३, बिहिबार

हामी प्रचण्डका कार्यकर्ता होइनौं, कांग्रेसले इटहरी उपमहानगर प्रमुख नपाए ठूलो विद्रोहः सभापति भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख। स्थानीय चुनावमा महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख पद बाँडफाँटमा नेपाली कांग्रेसले इटहरी नपाए विद्रोह हुने भएको छ।

नेकपा एमालेसँग गत निर्वाचनमा साधारण मतान्तरले मात्र प्रमुख पद गुमाए पनि बहुमत वडामा जित निकालेको कांग्रेसले १२ सय पनि मतदाता नभएको पार्टीलाई इटहरीको प्रमुख जिम्मा दिने र सहयोग गर्न नसकिने नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले बताएका छन्।

दैनिक नेपालसँग कुरा गर्दै भण्डारीले भने,‘३० हजार भन्दा बढी मतदाता भएको कांग्रेसले १२ सय पनि मतदाता नभएको पार्टीलाई सहयोग गर्न सक्तैन। यो कांग्रेसका उम्मेदवारको अपमान हो। केन्द्रीय नेतृत्वले हेक्का राखोस्।’

इटहरी उपमहानगरको जिम्मेवारीले प्रदेश १ मै नयाँ सन्देश जाने भएकाले कांग्रेसले गुमाउन नचाहेको बताएका उनी भन्छन्,‘यदि पाइएन भने हामी स्वीकार गर्न सक्तैनौं, विद्रोह हुने सम्भावना बढ्छ।’

इटहरी नेकपा एकीकृत समाजवादीलाई दिने गठबन्धनमा लगभग सहमति भएको भन्ने चर्चा सतहमा आएपछि सुनसरी कांग्रेसको यस्तो चेतावनी आएको हो। ‘कांग्रेसको जनमतका हिसाबले सुनसरी निक्कै बलियो जिल्ला हो। हामीले नौ पालिका जित निकालेका छौं। मतदाता र माहौल हाम्रो छ, अरुलाई दिनू भनेको आत्मसमर्पण गर्नु हो’, भण्डारीले दैनिक नेपालसँग भने,‘हामीलाई मान्य हुनेछैन।’

इटहरी उपमहानगरपालिका कांग्रेसका भाइटल नेता जिताउने निर्वाचन क्षेत्र हो। गत संघीय निर्वाचनमा क्षेत्र नम्बर ३ र २ दुवैमा कांग्रेसका उपसभापति विजय गच्छादार र नेता सिताराम मेहताले जित निकालेका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय तहमा कुरा मिलेपछि तल्लो तहले भनेर खासै असर नगर्ने बताएकोप्रति टिप्पणी गर्दै भण्डारीले भने,‘हामी प्रचण्डका कार्यकर्ता होइनौं, हामी नेपाली कांग्रेसका इमान्दार सिपाही हौं, हाम्रो जनमतको कदर कसैलाई जिम्मा लगाएर होइन, हामीले जिम्मेवारी पाएर मात्र पूरा हुन्छ।’

‘जसको मतदाताको केन्द्रविन्दु नै इटहरीले ढाकेको छ, त्यसस्तो उपमहानगरपालिका, प्रदेश १ को केन्द्रविन्दु जिम्मा लगाउन सकिँदैन’, कांग्रेसबाट मेयरका दाबेदार रोहित प्रसाई भन्छन्,‘यो मतदाताको, कांग्रेसको अपमान गर्ने चेष्टा हुनेछ, हामी मान्नेवाला छैनौं।’