
काठमाडौँ, ३० चैत । प्रहरीले विराटनगरबाट मानवका विभिन्न ४६ वटा अंगसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको प्रहरी टोलीले भारत बिहार प्रदेश पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिंन्हालाई पक्राउ गरेको हो ।
उनलाई विराटनगर–१५ स्थित मुख्य रानी नाकाको १ नम्बर ढाटबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सिंन्हाका साथबाट मानव खप्पर, खुट्टाको हड्डी, हातको हड्डी, करङको हड्डी, बंगराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाडको हड्डी, औँलाको हड्डी र कुरकुच्चाको हड्डी गरी ४६ वटा मानव अंग बरामद गरेको छ ।
प्रहरीले उनको साथबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा इन्टर्नसीपको समयमा सन् २०१६ मा बनाएको परिचय पत्र पनि बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय रानीमामा बुझाइएको प्रहरीले जनाएको छ ।
उनले ति मानव अंग भारतीय संग्राहलयमा बेच्न लैजाना लागेको आशंका गरेको छ ।
उनले आफूलाई मानव अंग ओसार पसार अवैद्य हो भन्ने जानकारी नभएकाले लैजान लागेको प्रहरी समक्ष बयान दिएका छन् । उनले मेडिकल पढ्दा आवश्यक पर्ने भएकोले साथीसँग मागेर लैजान लागेको बताएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी एमबीबीएसपछि इन्टरनसिप गरिरहेका छन् ।
यसअघि असोज १८ मा विराटनगर प्रहरीले भारत लैजान लागेको मानव खप्पर २८ वटा र मानव हातखुट्टा १० वटा बरामद गरेको थियो ।















प्रतिक्रिया