१२ कार्तिक २०८३, बिहिबार

‘कालो धन रोक्न खोज्ने गभर्नरलाई निलम्बन गर्नु अपराध हो, अर्थमन्त्रीले राजीनामा दिनुपर्छ’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ चैत । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने बताएका छन् ।

विदेशबाट आएको कालो धन रोक्न नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कदम चालेपछि रुष्ट बनेर अर्थमन्त्री शर्माको सक्रियतामा सरकारले अधिकारीलाई निलम्बन गरिएको खतिवडाको भनाइ छ ।

पूर्वअर्थमन्त्री एवम् गभर्नर खतिवडाले गभर्नरलाई कार्वाही होइन अर्थमन्त्री जनार्दन शर्माको राजीनामा आउनु पर्ने स्पष्ट पारेका छन् ।

अझै तीन वर्ष कार्यकाल बाँकी रहेका गभर्नर अधिकारीमाथि व्यक्तिगत स्वार्थका निम्ति कुनै छलफल र परामर्शबिना सरकारले निलम्बन गरेपछि चौतर्फी आलोचना भइरहेको छ ।

अर्थमन्त्रीको ठाडो आदेशले निलम्बन गरिएको यो पहिलो घटना हो । राष्ट्र बैंकको स्वायत्ततामाथि अहिलेको सरकारले गम्भीर रूपमा हस्तक्षेप गरेको छ,’ पूर्वअर्थमन्त्री खतिवडाले भने, ‘अर्थमन्त्रीले आफ्नो कमजोरी लुकाउन गभर्नरलाई बलिको बोको बनाएका हुन् । अर्थतन्त्रको सम्पूर्ण जिम्मेवारी लिने दायित्व अर्थमन्त्रीको हो । अहिलेको अवस्थामा अर्थमन्त्रीले राजीनामा दिनुपर्छ ।’

अधिकारीले खस्किएको अर्थतन्त्र उकास्न सकारात्मक कदम चालिरहेको खतिवडाको भनाइ छ । ‘अघिल्लो सरकारको पालामा नियुक्त गरेको मान्छेले राम्रो काम गर्यो भनेर प्रतिशोध साध्नकै लागि अर्थमन्त्रीको ठाडो आदेशमा सरकारले निर्णय गरेको देखिन्छ,’ खतिवडाले भने, ‘गभर्नरमाथि अर्थमन्त्रीले सार्वजनिक रूपमा सूचना चुहाएको भन्दै गालीगलौज गरेका छन् । सार्वजनिक रूपमा गभर्नरलाई गाली गर्ने, छानबिन गर्ने, निलम्बन गर्ने कार्यले देशको आर्थिक स्थिति र वित्तीय प्रणालीलाई थप अस्थिर बनाउनेछ  ।’