६ कार्तिक २०८३, शुक्रबार

विभिन्न कार्यक्रमसहित पत्रकार महासंघले मनायो ६७औं स्थापना दिवस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । विभिन्न कार्यक्रम आयोजना गरेर नेपाल पत्रकार महासंघले आफ्नो ६७औं स्थापना दिवस मनाएको छ ।

महासंघको स्थापना दिवसका अवसरमा हिजो बुधबार बिहान काठमाडौंको सिनामंगलबाट सञ्चारग्रामस्थित महासंघको केन्द्रीय कार्यालयसम्म प्रभातफेरी गरेको थियो । प्रभातफेरीमा महासंघका विभिन्न शाखामा आवद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो ।

स्थापना दिवसकै अवसरमा सञ्चारग्रामस्थित महासंघको कार्यालयमा पत्रकारका लागि निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरिएको थियो । जसमा दन्त तथा मिर्गौला परीक्षण र रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

त्यसअघि स्वास्थ्य शिविर कायक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पत्रकारको निःशुल्क स्वास्थ्य उपचार गर्ने व्यवस्थाको व्यावहारिक पहल गर्ने बताए । उनले पत्रकारको स्वास्थ्य बीमा, ज्येष्ठ पत्रकार वृत्ति लगायतलाई व्यवस्थित गर्न र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न पहल गर्ने बताए ।

त्यस्तै, बुधबार नै महासंघले, ‘पत्रकार तथा अञ्चार क्षेत्रमा कोभिड–१९ को प्रभाव’ बारेमा तीन छुट्टाछुट्टै समूहमा समूहगत छलफल पनि गरेको थियो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महासंघको स्थापना दिवसका अवसरमा शुभकामना दिदै सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति सचेत रहेको बताए ।

पत्रकारको पेशालाई व्यवस्थापन गर्न सरकार लागि परेको बताउँदै मन्त्री कार्कीले पत्रकारको सुविधाका लागि अनलाइनमार्फत सेवा उपलब्ध गराउँदै पत्रकारको सम्मानका लागि पत्रकारिता पुरस्कार, पत्रकार उपचार कोष लगायतमा सरकार क्रियाशील रहेको बताए ।

समूहगत छलफलमा ‘कोभिड र प्रेस स्वतन्त्रताको अवस्था’ शीर्षकमा महासंघका पूर्वसभापति तारानाथ दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । समूहगत छलफलमा पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, महासंघकी पूर्वसचिव संगिता खड्का, मिडिया सोसाइटीका महासचिव मदन लम्सालले समूहगत छलफलमा भाग लिएका थिए । महासंघका सल्लाहकार निर्मला शर्माले कार्यक्रमको सहजीकरण गरेकी थिइन् ।

‘कोभिडको प्रभाव, महासंघको भूमिका र अबको रणनीति शीर्षकमा महासंघका महासचिव रोसन पुरीले कार्यपत्र प्रस्तुत गरेका थिए । समूहगत छलफलमा महासंघका पूर्व उपाध्यक्ष खिलबहादुर भण्डारी, विज्ञापन बोर्डका सदस्य बलराम थापा, महासंघका पूर्व केन्द्रीय सदस्य खिम घले, लोकान्तर डटकका सम्पादक बिमल गौतमले छलफल गरेका थिए । कार्यक्रमको सहजीकरण महासंघकी पूर्वउपाध्यक्ष यशोदा तिम्सिनाले गरेकी थिइन् ।

त्यस्तै पत्रकारहरूको पेशागत सुरक्षामा कोभिडको प्रभाव शीर्षकमा महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त शीर्षकमा समूहगत छलफलमा महासंघका पूर्वसभापति धर्मेन्द्र झा, पूर्वउपाध्यक्ष अनिता बिन्दु, पूर्वसचिव रामप्रसाद दाहाल, सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगन बाहादुर हमालले भाग लिएका थिए । कार्यक्रमको सहजीकरण महासंघका पूर्वअध्यक्ष शिव गाँउलले गरेका थिए ।