१३ कार्तिक २०८३, शुक्रबार

प्युठानमा एमालेको निर्वाचन अभियान तीव्र, ४ हजार २०० जनाले गरे पार्टी प्रवेश

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्युठान, ७ चैत । नेकपा एमाले प्युठानले निर्वाचनलक्षित गतिविधिहरूलाई तीव्र पारेको छ ।

सोही अनुसार जिल्ला कमिटी प्युठानले एक महिने लामो निर्वाचन अभिमुखीकरण तथा प्रशिक्षण अभियान हालै सम्पन्न गरेको छ । उक्त अभियानका क्रममा विभिन्न राजनीतिक पार्टी परित्याग गरी ४ हजार २०० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जिल्ला कमिटी प्युठानको गत फागुन ६ र ७ गते बसेको दोस्रो पूर्ण बैठकले गरेको निर्णयअनुसार सञ्चालन गरिएको एक महिने लामो अभियानका क्रममा ४ हजार ८०० जना पार्टी सदस्यहरू र ४ हजार २०० जना नव प्रवेशीहरूसहित प्रदेश, जिल्ला, पालिका, वडा र टोल कमिटीमा आबद्ध नेता कार्यकर्ताहरूलाई निर्वाचन केन्द्रित गरेर अभिमुखीकरण तथा प्रशिक्षण गरिएको नेकपा एमाले प्युठानले जानकारी दिएको छ ।

एमाले प्रवेश गर्नेहरूमा सबैभन्दा बढी ३ हजार १०० जना राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता र समर्थकहरू रहेको बताइएको छ । त्यस्तै एकीकृत समाजवादी प्युठानका अधिकांश नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । योसँगै प्युठानमा नेकपा एसको संगठन नै प्रायः समाप्त भएको दाबी एमाले प्युठानको छ ।

सत्ताधारी गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एस र राष्ट्रिय जनमोर्चा परित्याग गरी नेकपा (एमाले) प्रवेशको यो लहरले प्युठान जिल्लाको वर्तमान र भावी राजनीतिक परिदृश्य छर्लङ्ग पारेको एमालेको बुझाइ छ ।

पछिल्लो समय नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा प्युठानको इञ्चार्ज भएर आएसँगै एमाले प्युठानको सांगठनिक अवस्था सुदृढ बन्दै गएको जिल्लाका नेताहरू बताउँछन् । थापाको इञ्चार्जशीपमा अहिले प्युठान एमालेको संगठन निर्माण र पार्टी गतिविधिले समेत तीव्रता पाएको उनीहरूको भनाइ छ ।

जिल्ला कमिटी प्युठानले आयोजना गरेको अभियान जिल्लाको सरूमारानी, माण्डवी, स्वर्गद्वारी, प्युठान, मल्लरानी, गौमुखी, ऐरावती, झिमरूक र नौबहिनी गाउँ तथा नगरपालिकाहरूमा केन्द्रित गरिएको थियो ।

यस अवधिमा महिला, दलित, मुस्लिम, स्वास्थ्यकर्मी, निजामती कर्मचारी, सम्पर्क मञ्च, शिक्षक, भूमिहीन सुकुम्बासी, खेलाडी, बुद्धिजीवी, अपाङ्ग, कानुन व्यवसायी, भूतपूर्व सैनिक तथा प्रहरी र प्रेस चौतारीलगायत १४ वटा जनवर्गीय र पेशागत संगठन र क्षेत्रहरूका जिल्लास्तरीय भेला, सम्मेलन तथा अधिवेशनहरू आयोजना गरिएको थियो । त्यस अवसरमा सर्वसम्मतिले नयाँ नेतृत्व र जिल्ला स्तरीय संगठनहरू निर्माण गरिएको बताइएको छ ।

त्यस्तै अनेरास्ववियु विद्यालय, उच्च मावि र क्याम्पसहरूमा पुग्ने अभियानमा सक्रिय भएको पनि एमाले प्युठानले जानकारी दिएको छ । युवाहरू पालिका र वडा तहमा संगठित र सक्रिय बनिरहेका छन् । अरू संगठनहरू पनि आ–आफ्नो संरचना व्यवस्थापनमा जुटेको बताइएको छ ।