
भादगाउँ, ६ चैत । दायाँबायाँ फोहरले ढाकिएको भक्तपुर नगरपालिका–४, बाराहीस्थानस्थित मङ्गलतीर्थमा श्राद्धको पिण्ड सेलाउँदै थिए । पिण्ड सेलाई सकेपछि तीर्थस्थलको पानी छुने आँट गरेनन् । बोटलको पानीले जल सेचन गरी अक्षता चढाए । करिब दुई मिनेटजति तीर्थस्थलको दायाँबायाँ नियालेर लामो स्वास तान्दै बोले रामकृष्ण शिल्पकार, “कस्तो दशा भएछ, यस्तो पवित्र तीर्थस्थलको ।”
उमेरले सात दशक पार गरिसकेका उहाँले आफू सानो हुँदा त्यही तीर्थस्थलको पानी खाएर हुर्केको स्मरण गर्नुभयो । सम्बन्धित निकायले समयमा ध्यान पु¥याउन नसकेपछि भक्तपुर नगरपालिका–४ स्थित द्वापरयुगदेखि प्रसिद्ध मानिने मङ्गलतीर्थ क्षेत्रको अस्तित्व सङ्कटमा परेको छ । संरक्षणको अभाव र हनुमन्ते खोलाको दायाँबाँया करिडोरको बाटो विस्तारसँगै त्यहाँ भएका सबै सम्पदा सङ्कटमा पर्दै गएको हो ।
प्रत्येक वर्ष साउने वर्षाले हनुमन्तेको बाढी ल्याउने लेदोले कति सम्पदा पुरिसके भने कति बगाइँसके यसको लेखाजोखा नै छैन, बचेका सम्पदासमेत कुनै झारले छोपेका छन् भने केही सम्पदा लोप हुने अवस्थामा छन् भने कति हराइसकेका छन् ।
तीर्थस्थलमा रहेका शिवालय पूर्ण जीर्ण अवस्थामा छ । त्यसैगरी रामसीता, हनुमान, राधाकृष्ण, सीतलादेवी, लक्ष्मीनारायणलगायत छेउछाउमा रहेका शिवलिङ्ग पुरिने अवस्थामा छन् । मङ्गला ऋषि, गणेशको मूर्ति र श्राद्ध गर्ने ठाउँ पुरिसकेको छ । कुनै समयमा शव जलाउने गरिएको उक्त तीथस्थलसमेत अहिले पूरै अलपत्र अवस्थामा छ ।
द्वापरयुगमा मङ्गला ऋषिसिद्ध भएको हुनाले मङ्गलतीर्थ रहन गएको पवित्रस्थल अहिले फोहरै फोहरले भरिएको छ । स्थानीयवासीको घर–घरबाट निस्किने ढलको पाइप सिधैँ खोलामा जोडिएको छ । यसले गर्दा तीर्थस्थल दुर्घन्धित हुनुका साथै फोहर फाल्ने डम्पिङ साइडको रुपमा परिणत हुँदैं गएको छ । स्थानीयवासी श्यामकाजी श्रेष्ठका अनुसार खोलाको छेउमा बाटो बनाएदेखि मानिसहरुले यहाँ फोहर फाल्ने ठाउँको रुपमा विकास गरेको छ ।
सानो हुँदा यही तीर्थस्थलको पानी खाएर हुर्केका श्रेष्ठले विगतको सम्झाना गरेर सम्बन्धित निकायले समयमै ध्यान नपु¥याएकाले आज यस्तो अवस्थामा आएको बताउनुभयो ।
“यो तीर्थस्थल भनेको पवित्र हो । यहाँ प्रत्येक मङ्गल चौँथीको दिन मेला लाग्छ । यो ठाउँ दुर्घन्धित भएदेखि यहाँ कसैले पूजा गर्न आएन । स्थानीय भएर आफ्नै ठाउँको महत्व बुझेन । घरघरबाट निस्केको फोहर फाल्ने ठाउँ र ढलको रुपमा यस स्थललाई विकास ग¥यो”, उहाँले भन्नुभयो ।
वर्षाको समयमा बाढीले आवतजावत बन्द हुने यस क्षेत्रमा अरुबेला हिलाम्य र धुलाम्य हुने गर्छ । यसले यर्दा बाँकी भएको सम्पदा कहिले हिलाम्य हुन्छ भने कहिले धुलाम्य भई ढाकिएको हुन्छ । त्यसले गर्दा दैनिक रुपमा हुने पूजापाठसमेत बन्द भइसकेको स्थानीयवासी बताउँछन् ।
द्वापरयुगमा मङ्गला ऋषि मङ्गलचौँ थीको दिन सूर्यविनायक दर्शन गर्न उक्त ठाउँमा बासगरी सिद्ध भएका कारण मङ्गलतीर्थ रहन गएको बाराही देवगृहका आचाजु (पूजाभारी) लक्ष्मीप्रसाद कर्माचार्यले बताउनुभयो ।
“द्धापरयुगमा मङ्गला ऋषिले मङ्लतीर्थमा स्नान गरेर सूर्यविनायक गणेशको दर्शन गरी फर्केर मङ्गलतीर्थस्थित मङ्गला गणेशको दर्शन गरेर मुलाखुस्थित मङ्गला भैरवको दर्शनपछि नासमनाको मङ्गल कुण्डमा मुख धोएर सोही स्थानको मङ्गलेश्वर महादेवका दर्शन गरेका थिए”, उहाँले भन्नुभयो ।
त्यही बेलादेखि नै स्थानीयवासीले पनि मङ्गलतीर्थमा स्नान गरी सूर्यविनायक मन्दिर गएर फर्केर मङ्गला ऋषिको दर्शन गरी मङ्गला गणेशको पूजा गरेर मङ्गल कुण्डमा गई मुख धोएर मङ्गलेश्वर महादेवको दर्शन गर्ने प्रचलन आएको कृष्णपुराणमा उल्लेख रहेको आचाजु कर्माचार्यले जानकारी दिनुभयो ।
भक्तपुर नगरमा अवस्थित यो पत्रिव तीर्थस्थल क्षेत्रमा पर्यटक नजाने भएकाले पनि यस्को अस्तित्व सङ्कटमा परेको स्थानीयवासीको गुनासो छ । सम्पदा संरक्षण गर्ने कार्यमा भक्तपुर नगरपालिका अग्रस्थनामा रहेपनि पर्यटक नपुग्ने ठाउँको सम्पदा क्षेत्रको संरक्षणमा नलागेको स्थानीयवासी रामकृष्ण श्रेष्ठले बताउनुभयो ।
भक्तपुर नरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरको सबै ठाउँको सम्पदाको आवश्यकता अनुसार संरक्षणको काम गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “कार्य सम्पादनका आधारमा सबै सम्पदाको संरक्षण गर्दै आएका छौं ।”
सम्पदा जस्तो संवेदनशील कार्यलाई हचुवाको तालमा संरक्षण गर्न नमिल्ने बताउँदै उहाँले सबैको सुक्ष्म तरिकाले अध्ययन अनुसन्धान गरी निर्माण गरिने जानकारी दिनुभयो । “कतिपय नगरस्तरीय, कतिपय वडास्तरीय गरी सम्पदाको आवश्यक जीर्णोद्वार, निर्माणकार्य गर्दे आएका छौँ ।
भक्तपुर नगरभित्रको सम्पदालाई क्रमशः निर्माण गर्ने कार्यमा लागिरहेका छौं । पर्यटक आउने र नआउने ठाउँ भनेर नगरपालिकाले त्यसको व्यवस्थापन गर्न सकेको छैन । विस्तारै मङ्गलतीर्थको पनि संरक्षणको काममा हामी लाग्छौं”, उहाँले भन्नुभयो ।
दरबार हेरचाह कार्यालयका प्रमुख अरुणा नकर्मीले सबै सम्पदा क्षेत्र पुरातत्वअन्तर्गत परेपनि प्राथमिकताको आधारमा कार्य गनुपर्ने बताउनुभयो । मुख्यतया विश्वसम्पदा क्षेत्रअन्तर्गत पर्नेलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँको भनाइ छ । “पुरातत्वले विषेशतः अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय गरी काम गर्नुपर्ने मान्यता छ । त्यही अनुसार बजेट पनि हुन्छ”, उहाँले भन्नुभयो ।
मङ्गलतीर्थमा बडादसैँको नवरात्रीको पाँचौँ दिनमा स्नान गरी बाराही शक्तिपीठको दर्शन गर्ने परम्परा छ । मङ्गलतीर्थमा स्नान गर्नाले घाउ, चोटपटक, सवारी दुर्घटना, आगोसम्बन्धी समस्याबाट मुक्त हुनुका साथै मङ्गल हुने जनश्रुति रहेको पाइन्छ ।–रासस












प्रतिक्रिया