
काठमाडौं, ६ चैत। लगभग डेढ महिनापछि नेपाल प्रहरीका महानिरिक्षक (आईजी) शैलेश थापा क्षत्री विदा हुन्छन् र संगठनको नेतृत्वमा प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) मध्यका प्रतिस्पर्धी आइपुग्नेछन्। हालै सिफारिस गरिएका बसन्त पन्तसहित एआईजी रहेका प्रद्युम्न कार्की र निरज शाही आईजी थापा क्षत्रीसँगै १८ वैशाखमा सेवा अवधि पूरा गरी संगठनबाट विदा हुँदैछन्।
उनीहरूको विदावारीसँगै आईजीको प्रतिस्पर्धामा एआईजीहरू विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धीरजप्रताप सिंह र रविन्द्र धानुक प्रतिस्पर्धामा रहनेछन्।
यस्तो प्रहरी अधिकारी अबका आईजी बनुन् जो ‘जब सानो थिएँ मसँग एउटा सपना थियो, प्रहरी अधिकारी र कुशल अनुसन्धानकर्ता बन्ने’ भन्ने विचारले स्थापित भएका हुने प्रक्षेपण गरिएको छ। पछिल्लो पटक सरकारले एआईजीमा सिंह र धानुकलाई पनि ल्याउने निर्णय गरेपछि आईजीको प्रतिस्पर्धा ‘टफ’ बनिसकेको छ।
सिंह केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन्। सिंह प्रहरी उपरिक्षकसम्म कामका आधारमा पहिलो नम्बरमा पर्दै आएका थिए। अहिले प्रतिस्पर्धामा रहेका सबै एकै ब्याचका हुन्।
सिंह उत्कृष्ट अनुसन्धान अधिकारी पनि हुन्। उनी जहाँ नेतृत्व गरी पुगेका छन् त्यहाँ कुशल अनुसन्धानसहित परिणाम दिएको पूर्वआईजीहरू बताउँछन्। ‘नेतृत्व लिन सक्ने र त्यसलाई कुशलतापूर्वक पूरा गर्ने सीप भएका अधिकारी धीरजप्रताप सिंह हुन्’, एक जना पूर्वआईजी भन्छन्,‘अन्य पनि उत्कृष्ट हुन्। तर काम र परिणामको तुलना गर्दा सिंहमा त्यो कौशलता देखिन्छ।’
सिंहले प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)को जिम्मेवारी लिँदा अपराध अनुसन्धान महाशाखा प्रमुख भए।
गुन्डागर्दीलगायतका विभिन्न मुद्दामा मुछिएका काभ्रेली गुन्डा सत्य लामालाई पक्राउ गरी अनुसन्धानको म्याद थप्दै गर्दा उनलाई राजनीतिक दबाब आएको थियो। तर, उनले त्यसलाई बेवास्ता गरी प्रहरीको कर्मलाई अघि बढाए। तत्कालिन नेपाल कम्युनिस्ट पार्टीकी (हाल नेकपा एमाले) सांसद नवीना लामाले म्याद नथप्नका लागि महाशाखामा टेलिफोन गरेकी थिइन्। उनले सम्झौता गरेनन्।
लामाविरुद्ध गुन्डागर्दीमात्र हैन, अवैध हिसाबले सम्पत्ति थुपारेको अभियोगमा सम्पत्ति शुद्धिकरणको मुद्दा समेत लगाइएको थियो। ‘एउटा गुन्डा नाइकेले कसरी सम्पत्ति आर्जन गर्छ ? यो ओपन सेक्रेट नै छ । अनुसन्धान गरी उसैको बयानका आधारमा सम्पत्तिको स्रोतको खोजी हुन्छ’, सिंहले त्यसबेला भनेका थिए,‘उसको गुन्डागर्दीबाट प्रभावित भएका व्यापारी, सर्वसाधारण र आम नागरिकले राहत महशुस गरेको पाटोलाई बिर्सन हुन्न ।’
सत्य लामा अघिल्लो पटक काठमाडौं प्रहरी परिसरले पक्राउ गर्दा नबिना लामाको दबाबमा छुटेका थिए। लामा प्रहरी कार्यालयसम्म नै पुगेकी थिइन् जसको ठूलो आलोचना भएको थियो।
काँडाघारीका बालक निशाख खड्काको अपहरणपछि हत्या गर्ने गोपाल तामाङ र अजय तामाङ पनि महाशाखाको इन्काउन्टरमा मारिएका थिए। बालकको हत्या गरी महाशाखाको टोलीमाथि फायरिङ गर्ने उनीहरूविरुद्ध प्रतिरक्षामा गोली चलाइएको थियो। उक्त घटना निमिट्यान्न पार्ने महाशाखाको प्रमुखमा सिंह नै रहेका थिए।
प्रहरी नायव महानिरिक्ष (डीआईजी)मा बढुवा भएपछि सिंह तत्कालिन प्रदेश २ (मधेस प्रदेश)का प्रमुख भए। कोरोना महामारीको एकातिरको मार थियो भने अर्कातिर अपराधलाई न्युनीकरण गर्नु थियो।
सिंहको कमान्डमा रहेको प्रदेश प्रहरी अपराधविरूद्धको अभियानमा सक्रिय रह्यो। त्यसताका विविध हत्या प्रकरणका दोषीलाई भारतीय सीमाबाट पक्राउ गरी कानुनी कठघरामा उभ्याउने मात्र होइन, बर्षौंअघि हत्या गरी फरार रहेका अभियुक्तलाई पक्राउ गर्दै जेलसम्म पु¥याउने अभियान नै चलाए।
‘फरार अभियुक्त पक्राउको अभियान जस्तै निर्देशनका आधारमा हामीले काम गरेका थियौं, निक्कै सफलता हात प¥यो’, सिंहसँग काम गरेका एक जना प्रहरी नायव उपरिक्षक (डीएसपी) भन्छन्,‘मधेस प्रदेशमा बलात्कार जस्ता घटनामा मिलापत्र गर्ने गराउने काममा पनि रोक भयो, पञ्चायती गरी अपराधको ढाकछोप गर्ने कतिपयलाई त कानुनी दायरामा नै उभ्याइयो।’
सिंह सीआईबीको नेतृत्वमा आएपछि ललिता निवास प्रकरणको अल्झिरहेको फाइलले एउटा किनारा पाइसकेको छ भने बैंकिङ कसुरदेखि विविध अपराध गरी फरार रहेका अभियुक्तलाई पक्राउको क्रम तिव्र गतिमा बढेको छ।
प्रहरी सेवामा प्रवेश गरेदेखि नै सिंहले थकान भन्ने चिजलाई अलग राखेका छन्। संगठनले दिएको जिम्मेवारीमा अथक योद्धाका रुपमा सक्रियता देखाएका छन् भने उनी थकानहिन कमान्डर पनि हुन्।











प्रतिक्रिया