६ कार्तिक २०८३, शुक्रबार

ऐतिहासिक भोटे मेला शुरू, के हो भोटे मेला ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तुलसीपुर (दाङ), २४ फागुन । तुलसीपुर–७ कालाखोलामा ऐतिहासिक भोटे मेला हिजो सोमबारदेखि शुरु भएको छ ।

मेलाको चेम्बर अफ कमर्श तुलसीपुरका अध्यक्ष टोपबहादुर घर्तीले रानी केक काटेर उद्घाटन गरे । मेलाको उद्घाटन गर्दै अध्यक्ष घर्तीले आर्थिक विकासका लागि ऐतिहासिक महत्व बोकेका स्थानीय मेलाको संरक्षण आवश्यक रहेको बताएका छन् ।

उनले मेलामा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न सकेमा आर्थिक विकासको दिगो लक्ष्यलाई भेटाउन सहयोग पुग्ने बताए ।

ऐतिहासिक महत्व बोकेको मेलाको महत्वलाई जोगाइराख्न स्थानीयले सक्रियता बढाउनुपर्ने बताए । मेलाका संयोजक दिपक केसीको अध्यक्षता तथा चेम्बर अफ कमर्शका अध्यक्ष घर्तीको प्रमुख आतिथ्यताममा मेलाको शुभारम्भ गरिएको हो ।

शिव मन्दिर सञ्चालक समितिका अध्यक्ष एकराज ढकालको स्वागत मन्तव्यबाट शुरू भएको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर–७ का वडा सभापति ओमबहादुर ओलीले मेलाको ऐतिहासिकतालाई जोगाइराख्नुपर्ने बताए । कार्यक्रमको सहजीकरण आयोजक समितिका साँस्कृतिक सहसंयोजक प्रेमविवश घर्तीले गरेका थिए ।

भोटे मेलाको महत्व के ?

पर्सेनीस्थित कालोखोलामा कुनै समय हिमाली भेग हुम्ला, जुम्लासम्मका मानिसहरू (भोटेहरू) घोडा लिएर मेलामा आउँथे । उनीहरू जाडो छल्न पुस माघमा दाङमा आउँथे । कालोखोलाको भोटे मेलामा भोटेहरू घोडा दौडाउँथे ।

सबभन्दा राम्रो दौडने घोडा खरिद गर्न साहु महाजन र जमिन्दारबीचमा हानथाप चल्थ्यो । हिमाली भेगका मानिसहरू (जुम्ली, भोटेहरू) राडी, पाखीदेखि औषधीय गुण भएका जडिबुटीहरू ल्याएर बेच्ने गर्थे । भोटे मेला हिमाल, पहाड र तराईको संगम स्थल थियो । वर्षदिनपछि बिछोडिएका मानिसहरू यही बेलामा भेटिन्थे ।

छिमेकी देश भारतको तुलसीपुरबाट व्यापारीहरू मेलामा सरसामान बेच्न आउँथे । मुख्यगरी उनीहरू नुन, तेल, मट्टीतेलको व्यापार गर्थे । भेली (गुरू) मिठाइको पनि उत्तिकै व्यापार हुन्थ्यो । जेरी समोसा खुबै खपत हुन्थ्यो ।

दंगाली र आसपासका पहाडी जिल्लाहरू रोल्पा, सल्यान, रुकुमका मानिसहरू कृषि उपजहरू बेच्थे । ऐतिहासिक भोटे मेला पछिल्लो समय माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुग्दै गर्दा स्थानीय प्रहरी प्रशासनले नै सुरक्षाको कारण देखाउँदै २०५६ सालदेखि भोटे मेलामा प्रतिबन्ध लगायो ।

त्यसपछि फेरि केहि वर्ष अघिदेखि मात्रै भोटे मेला ब्युँताउने प्रयास शुरु भएको हो । शिवरात्रीको अवसरमा भोटे मेला लाग्ने गर्दथ्यो तर यसवर्ष केहि ढिलागरी शुरुवात भएको छ । सोमबारदेखि शुरु भएको मेला चैत ३ गतेसम्म संचालन हुने मेला आयोजक शिव मन्दिर संचालक समितिले जनाएको छ ।