
काठमाडौँ, १६ फागुन । सत्तारुढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन गर्नुको रहस्य खोलेका छन् ।
उनले आफैँले गठबन्धन जसरी भएपनि जोगाउन व्याख्यात्मक घोषणासम्बन्धी ‘आइडिया’ निकालेको बताए ।
आफ्नो आइडियामा केही व्यक्तिले समर्थन गरेको उनले खुलासा गरे ।
सोमबार खुमलटारमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
उनले एमसीसी पारित भएको आफू खुशी भएको पनि बताए ।
उनले अहिले सत्ता गठबन्धन नै टुट्ने हो कि भन्ने खतरा आएपछि यस्तो निर्णय लिइएको प्रचण्डले बताए ।
‘एमसीसीका कारण सम्पूर्ण प्रकृयालाई दुर्घटनामा धकेल्न सकिँदैन । पार्लियामेन्टबाट एउटा प्रस्ताव पारित गरौं भनेर पोहोर नै मैले भनेको कुरामा मेरो दिमाग क्लिक भयो,’ प्रचण्डले भने ।
त्यस्तै, यसबारे परराष्ट्रविद् डा. अर्जुनबहादुर थापाले आफूलाई केही उपाय सुझाएको पनि उनले जानकारी दिए । डा. थापाले एउटा पक्षबाट आधिकारिक रुपमा पार्लियामामेन्टबाट यस्तो व्याख्यात्मक घोषणा गर्दा अर्को पक्षले पनि मान्नुपर्ने अन्तर्राष्ट्रिय प्रावधान रहेकोबारे आफूलाई सुझाएको उनको भनाइ थियो ।
तर प्रचण्डको यो कुरामा सत्यता नभएको स्पष्ट हुन्छ । किनकी नेपालस्थित अमेरिकी राजदुतावासले नेपालले गरेको एमसीसी बारेको व्याख्यात्मक घोषणालाई बेवास्ता गरिसकेको छ । त्यसैले कार्यान्वयन हुनेमा शंका भएको विश्लेषकहरुले जनाएका छन् ।
प्रचण्डले आफूलाई लन्डनमा रहँदै आएका अन्तर्राष्ट्रिय कानुनका ज्ञाता डा. सूर्यप्रसाद सुवेदीले समेत सुझावसहितको चार पाने पत्र पठाएर धेरै आँट दिएको पनि उनले बताए ।
आफूले अब दायाँबायाँ हुन दिन हुँदैन, देशलाई दुर्घटनामा जान दिनु हुँदैन भनेर नै व्याख्यात्मक घोषणासहित पारित गरेर एमसीसीमा जोड्न पहल गरेको उनले दावी गरे ।












प्रतिक्रिया