
काठमाडौँ, २९ माघ । राष्ट्रिय जनमोर्चाले अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले एमसीसी पारित नगरे नेपाल नीतिमा पुनर्विचार गर्ने भनेर दिएको धम्की प्रति आपत्ति जनाएको छ ।
लुले नेपाली नेताहरुलाई फोन गरेर यस्तो धम्की दिएको प्रति जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन् ।
लुले नेपाली नेताहरुलाई फोन गरेर धम्की दिनु कुटनीतिक मर्यादा विपरीत भएको केसीले जनाएका छन् ।
गत बिहीबार अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी एमसीसी पारित गर्न दबाव दिएका थिए । लुले नेपालले एमसीसी पारित नभए चीनको दवावले नगरिएको बुझिने समेत बताएका थिए ।
सत्तारुढ घटक समेत रहेको जनमोर्चाका अध्यक्ष केसीले भनेका छन्, ‘अमेरिकाको उक्त धम्कीबाट एमसिसी गलत छ र त्यो नेपालको सार्वभौमसत्ता तथा अखण्डताका विरुद्ध छ भन्ने कुरा थप पुष्टि भएको छ । त्यसका साथै अमेरिकाले नेपालमाथि लाद्न खोजेको एमसिसी परियोजना चीनका विरुद्ध रहेको पनि यो धम्कीबाट झन् प्रष्ट भएको छ ।’
कुनै पनि परियोजना वा सहयोग लिने वा नलिने कुरामा नेपाल स्वतन्त्र रहेको केसीले जनाएका छन् ।
नेपाल कुनै पनि राष्ट्रको पक्ष लिएर अर्को राष्ट्रको विरुद्ध लाग्ने नीतिमा नरहेको बताउँदै केसीले अमेरिकाले एमसीसी पारित गर्न दिएको धम्कीले एमसीसी चीनविरुद्ध भएको स्पष्ट पारेको समेत बताएका छन् ।
उनले विदेशी धम्कीविरुद्ध देशभक्तहरु एक हुनुपर्ने समेत जनाएका छन् ।













प्रतिक्रिया