१७ कार्तिक २०८३, मंगलबार

संविधानका पिता कोइरालाको सातौँ स्मृति दिवसमा ब्राह्मण वटुकलाई भोजन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ माघ । संविधानका पिता सुशील कोइरालाको सातौँ स्मृति दिवसका अवसरमा पशुपति क्षेत्रस्थित राम मन्दिरमा रहेको स्वर्गद्वारी आश्रमका ब्राह्मण वटुकलाई भोजन गराइएको छ ।

सुशील कोइराला मेमोरियल फाउण्डेशनको आयोजनामा आश्रमले सञ्चालन गरेको गुरुकुलका ५० जना ब्राह्मण वटुक र आगन्तुकलाई भोजन गराइएको सदस्य सचिव अतुल कोइरालाले राससलाई जानकारी दिनुभयो ।

विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाको त्यसै वर्ष माघ २५ गते निधन भएको थियो ।

सादगी नेताको परिचय बनाउनुभएका पूर्वप्रधानमन्त्री सुशील कोइरालाले ७० वर्षअघि बिपी कोइरालाले अघि सार्नुभएको संविधानसभाबाट संविधान जारी गर्ने मुद्दालाई कार्यान्वयन गर्न सफल हुनुभएको थियो । कोइरालाले आफ्नो प्रधानमन्त्रीत्वकालमा भ्रष्टाचार नियन्त्रण गर्न सरकारले गरेका खर्च प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटबाट सार्वजनिक गर्न सुरु गर्नुभएको थियो ।

यस अवसरमा बुधबार बेलुकी जुम माध्यमबाट अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको फाउण्डेशनले जनाएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला, पूर्वमुख्यसचिव लीलामणि पौडेल, कोइरालाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईलगायतले विचार राख्नुहुने कार्यक्रम छ ।–रासस