८ कार्तिक २०८३, आइतबार

स्वास्थ्य र पशु बीमामा शतप्रतिशत अनुदानमा गरिँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १३ माघ । चाँगुनारायण नगरपालिकाको एउटा वडाले आफ्ना नागरिकलाई स्वास्थ्यदेखि पशु बीमासम्ममा शतप्रतिशत अनुदान दिएको छ ।

चाँगुनारायण नगरपालिका–३ झौखेलले आफ्नो नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने र पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले यस्तो कार्यक्रम लागू गरेको हो ।

नगरपालिकाले आफ्ना नगरभरिका सबै नागरिकलाई स्वास्थ्य उपचारमा पहुँच पुर्याउन ५० प्रतिशत अनुदान प्रदान गरेको छ । चानपा–३ झौखेलले नगरपालिकाबाट आएको ५० प्रतिशत अनुदानमा अर्को ५० प्रतिशत वडाको अन्य बजेटबाट मिलान गर्दै वडाका सबै नागरिकलाई शतप्रतिशत अनुदान प्रदान गरेको वडाध्यक्ष श्यामसुन्दर धिमालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा पुर्याएर उपचारमा सहज बनाउने लक्ष्यसाथ रु २५ लाख बजेट विनियोजन गर्दै वडाका आठ सय परिवारलाई शतप्रतिशत अनुदानमा स्वास्थ्य बीमा गराएका हौँ ।”

त्यसैगरी आफ्ना वडाका सबै नागरिकलाई पशुपालनमा आकर्षित गराउन वडा कार्यालयले पशु बीमामासमेत शतप्रतिशत अनुदान दिएको छ । पशु बीमा तर्फ राज्यले ८० प्रतिशत अनुदान दिएको र वडाले २० प्रतिशत थपेर शतप्रतिशत पुर्याएको हो ।

वडामा अहिलेसम्म दुई सय किसान लाभान्वित भएको जानकारी दिँदै वडाध्यक्ष धिमालले गाईभैँसी गरी दुई हजार पशुको बीमा गरिएको जानकारी दिनुभयो ।

पशुबीमा गरेका किसानले पशुको मृत्यु भएमा ९० प्रतिशत रकम पाउने र पशुले हानेर किसानको मृत्यु भए पाँच लाख रुपैयाँ किसानले पाउने गरी किसानकोसमेत बीमा हुने उहाँले जानकारी दिनुभयो ।

यसवर्ष वडा कार्यालयले कृषि कार्यक्रमका लागि रु १६ लाख बजेट विनियोजन गर्दै किसानलाई कृषि टनेल निर्माण गर्न प्लास्टिक अनुदान दिएको छ । –रासस