१ कार्तिक २०८३, शनिबार

जनसंख्या वृद्धिदर ८० वर्षकै न्यून

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ ।

अघिल्लो जनगणनाको तथ्यांकभन्दा २७ लाख मात्रै वृद्धि भएको हो । केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्रै छ । यो ८० वर्षकै कम वृद्धिदर भएको विभागको तथ्यांकले देखाउँछ ।

१९९८ सालमा गरिएको चौथो जनगणनाअनुसार नेपालमा जनसंख्या वृद्धिदर १.१६ प्रतिशत थियो । पछिल्लो वृद्धिदर प्रतिशतमा ०.९३ मा झरेको छ। १९९८ साल अघि नेपालको जनसंख्या वृद्धिदर ऋणात्मक थियो । १९९८ को जनगणनापछि अहिले जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा तल झरेको छ ।

२०६८ सालको भन्दा ०७८ को जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ ले मात्रै बढी हो । ०६८ सालमा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । १० वर्षमा १०.१८ प्रतिशत जनसंख्या वृद्धि भएको विभागको तथ्यांकमा उल्लेख छ। अघिल्लो जनगणनामा १.३५ प्रतिशत वृद्धिदर थियो । पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्यामा १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६ प्रतिशत) र १ करोड ४९ लाख १ हजार १६९ जना महिला (५१.०४ प्रतिशत) रहेको छ ।

१० वर्षअघि २०६८ सालको जनगणनामा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ प्रतिशत र ५१.५ प्रतिशत थियो । हालको प्रारम्भिक नतिजाअनुसार लैंगिक अनुपात ९५.९१ छ । जुन गत जनगणनामा ९४.१६ थियो, आजको अन्नपूर्ण दैनिकमा सुरेन्द्र काफ्लेले समाचार लेखका छन् ।