बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

आज संकटा र मछिन्द्रबीच प्रतिस्पर्धा हुँदै

दैनिक नेपाल २०७८ माघ १० गते ७:२३

पोखरा, १० माघ । मनाङ मर्स्याङ्दी क्लब २०औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता २०७८ को सेमिफाइनलमा पुगेको छ ।

कास्कीको पोखरा रंगशालामा हिजो आइतबार भएको क्वाटरफाइनलमा मनाङले नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । मनाङको जितमा नाइजेरियन फरवार्ड ओलावाले आफिजको प्रभावशाली प्रदर्शन महत्वपूर्ण रह्यो ।

मनाङले अब सेमिफाइनलमा भोलि मंगलबार हुने त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टार क्लबको विजेतासँग खेल्ने छ ।

आज सोमबार प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा साविक विजेता संकटा र ए डिभिजन लिगको शीर्ष टोली मछिन्द्रबीच प्रतिस्पर्धा हुने छ ।

यसअघि शनिबार पहिलो क्वाटरफाइनलमा एपीएफले अमेरिकी टोली भुटनीज युथ स्पोर्ट्स क्लब (बीवाईएससी) लाई ३–१ ले पराजित गरेको थियो ।

प्रतियोगितामा ए डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएका छन् । आहा गोल्डकपको विजेताले उपाधिसहित १० लाख १ हजार रुपैयाँ र दोस्रो हुनेले टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगितामा १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित