शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

एपीएफ आहा–रारा गोल्डकपको सेमिफाइनलमा

दैनिक नेपाल २०७८ माघ ९ गते ६:५६

कास्की , ९ माघ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ ।

शनिबार पोखरा रंगशालामा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका रवि थिङको दुई गोलको मद्दतमा एपीएफले पाहुना टोली भुटानिज युथ स्पोर्ट्स क्लब (बीवाईएससी) मिनेसोटा अमेरिकालाई ३–१ ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । आहा–रारामा पहिलोपटक सहभागिता जनाएको मिनेसोटाले खेलमा अग्रता बनाए पनि जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफमा दुवै टोलीबाट गोल हुन नसकेको खेलमा दोस्रो हाफको दोस्रो मिनेटमा मेगल पलफक्सले ‘हेड’मार्फत गोल गरेपछि पाहुना टोली मिनेसोटाले खेलमा अग्रता बनायो । खेलमा एक गोलले पछि परेको अवस्थामा दोस्रो हाफको २५औँ मिनेटमा एपीएफले आवास लामिछानेको गोलमार्फत खेल बराबरीमा ल्यायो ।

एपीएफका नवीन लामालाई विपक्षी टोलीका गोलकिपर दिनेश थापामगरले ‘फाउल’ गरेपछि रेफ्री नवीन्द्र मर्हजनले एपीएफलाई पेनाल्टीको अवसर दिएकामा लामिछानेले गोल गर्दै एपीएफलाई खेलमा फर्काए ।

खेलको ८४औँ मिनेटमा वैकल्पिक खेलाडी रवि थिङले गोल गर्दै एपीफएलाई अग्रता दिलाए । थप गरिएको समयको चौथो मिनेटमा थिङले पुनः अर्को गोल गर्दै एपीफएको जित सुनिश्चित गरे । खेलमा दुई गोल गरेका थिङ ‘म्यान अफ दि म्याच’ घोषित हुँदै आठ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

खेलपछिको पत्रकार सम्मेलनमा एपीएफका प्रशिक्षक कुमार थापाले रक्षापंक्तिको गल्तीका कारण पहिलो गोल खान पुगे पनि पछि सुधारिएको खेल प्रदर्शन गरेर जित हासिल भएको बताए । आगामी खेलमा टोलीको प्रदर्शनमा थप सुधार गरिने उनले उल्लेख गरे ।

बीवाईएससीका प्रशिक्षक प्रलयराज भण्डारीले विपक्षीले पेनाल्टी पाउनु नै खेलको टर्निङ प्वाइन्ट बनेको बताए । उनले प्राप्त अवसरमा खेलाडी गोल गर्न असमर्थ हुँदा पराजित हुनपुगेको टिप्पणी गरे ।

प्रतियोगिताअन्तर्गत आइतबार ६ पटकको च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लब र पाँचपटकको उपाधि विजेता नेपाल पुलिस क्लबबीच खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

मनाङले सिधै क्वार्टरफाइनलमा स्थान बनाएकामा पुलिसले शुक्रबार ‘सडन डेथ’मा हिमालयन शेर्पा क्लबलाई पराजित गरी क्वार्टरफाइनल प्रवेश गरेको हो । यही माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ‘ए डिभिजन’का आठ क्लबसहित १० टोलीको सहभागिता छ । रासस

प्रतिक्रिया
सम्बन्धित