शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सरकारको कामबारे के भन्यो एमालेले ?

दैनिक नेपाल २०७८ माघ ९ गते १४:५४

काठमाडौँ, ९ माघ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कोरोना संक्रमणबाट जोगाउन ल्याइएको २४ लाख खोप कहाँ गयो भनी प्रश्न गरेको छ ।

पाँच दलीय गठबन्धन सरकारले गरेका ६ महिने कार्यहरुको औपचारिक समीक्षा गर्दै एमालेले खोप सहराएको घटनाको विषयमा प्रश्न उठाएको हो ।

एमालेले अस्पताल निमार्णका लागि छुटाइएको एक अर्ब ५० करोड रुपैयाँ काटेको प्रति आक्रोशसमेत व्यक्त गरेको छ ।

एमालेका अनुसार कोभिड महामारीको नयाँ लहरले जनजीवन फेरि आक्रान्त हुन थालेको उल्लेख गर्दै आफनो सरकारले शून्यबाट सुरु गरेर ८० भन्दा बढी कोभिड प्रयोगशाला, दर्जनौं कोभिड अस्पताल, हजारौं शैयाहरु, अक्सिजन प्लान्ट, थप पूर्वाधारहरु एवं पर्याप्त खोपको प्रवन्ध गरेको स्मरण गराएको छ ।

‘तर, यो सरकार महामारीको नयाँ लहरमा गैरजिम्मेवार र निष्प्रभावी देखिएको छ, २४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरुले नै दिइरहेका छन् । कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ?’ एमालेको प्रश्न छ ।

एमालेले खोप गायब बनाइएको विषय तथा भण्डारणमा भएका खोपहरुको न्यायोचित वितरण नभएको तर्फ प्रश्न उठाएको छ । ‘अरू त अरू, खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोलसमेत उपलब्ध गराउन नसक्नुले सरकार कति गैरजिम्मेवार छ भन्ने स्पष्ट हुन्छ,’ एमालेले भनेको छ ।

‘जनतालाई घर–आँगनमै स्वास्थ सुविधा उपलब्ध गराउन विगत सरकारले स्थानीय तहमा ३९६ आधारभूत अस्पताल निर्माणअघि बढाएको थियो, उक्त कामका लागि २०७८ जेठ महिनामा प्रस्तुत बजेटमा ६ अर्ब १५ करोड रुपैयाँ विनियोजना गरिएकोमा वर्तमान सरकारले एक अर्ब ५० करोड रुपैयाँ कटौती गरेको छ,’ एमाले अध्यक्ष ओलीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, सबै प्रकारका जटिल रोगको उपचारका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न काठमाडौँको कीर्तिपुरमा प्रस्तावित सुपर स्पेसियालिटी सेन्टर निर्माणका लागि विनियोजित ५० करोडलाई घटाएर १० करोड रुपैयाँमा सीमित पारिदिएको भन्दै एमालेले वक्तव्यमार्फत आक्रोश व्यक्त गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित